Uncategorized

नेपालकाे सन्दर्भमा जीवन बीमा अभिकर्ताकाे

नेपालकाे सन्दर्भमा जीवन बीमा अभिकर्ताकाे विकल्पकाे औचित्यः दिगविजय सिंघलकाे विचार

बितेको आर्थिक वर्ष ०७८/०७९ नेपालको बीमा क्षेत्रका लागी निक्कै उतारचढावपूर्ण वर्षको रुपमा रह्याे। न्यूनत्तम चुक्ता पूँजीको लक्ष्य पुरा गर्नुपर्ने दबाबका बीच २० बाट निर्जीवन बीमक १४ वटामा र १९ बाट जीवन बीमकहरु १४ वटामा सीमित भएका छन् ।

गत वर्ष जीवन बीमा क्षेत्रमा आएका विभिन्न उतार चढाव र मुलुकको अर्थतन्त्रमा आएको संकुचनका कारण गत आर्थिक वर्ष कुल जीवन बीमाशुल्क संकलनमा आव ०७८/०७९ को तुलनामा झिनो वृद्धि मात्रै देखियो । प्रथम बीमा शुल्कमा सबै कम्पनीहरुको ऋणात्मक वृद्धिदरका कारण समग्र जीवन बीमा उद्योग नै २४.७३ प्रतिशतको ऋणात्मक वृद्धिबाट गुज्रियो । यो जीवन बीमा व्यवसायको लागि अवश्य पनि सुखद होइन । नयाँ बीमालेखबाट हुने बीमाशुल्क आम्दानीमा वृद्धि हुन सकेन भने जीवन बीमा व्यवसाय भविष्यमा संकटग्रस्त हुने संभावना बढ्छ ।

जीवन बीमा व्यवसायको प्रवद्र्धन गर्न र चलायमान बनाउन सबैभन्दा ठूलो भूमिका अभिकर्ताको हुन्छ । जीवन बीमा व्यवसायमा अभिकर्ताहरुको योगदान सम्बन्धी अन्तर्राष्ट्रिय वस्तुस्थितिको अध्ययनबाट पनि यो तथ्य पुष्टी हुन्छ । भारतीय बीमा नियामक तथा प्राधिकरण(आइआडिएआई)का अनुसार भारतमा संकलन हुने बीमाशुल्कमा अभिकर्ताको माध्यमबाट ९६.४ प्रतिशत र बाँकी ३.६ प्रतिशत वैकल्पिक वितरण माध्यमबाट संकलन हुने गरेको छ । विकसित एशियाली मुलुक जापानमा अभिकर्तामार्फत् करिब ७० प्रतिशत र वैकल्पिक वितरण माध्यममार्फत ३० प्रतिशत बीमाशुल्क बीमा कम्पनीहरुले संकलन गरिरहेका छन् ।

सूचना प्रविधिको तीब प्रयोग भइरहेको मुलुकमा समेत अभिकर्ता(व्यक्ति)को निर्णायक भूमीका रहेको अवस्थामा नेपालमा अभिकर्ताको योगदान कति छ भन्ने अनुमान गर्न सकिन्छ । नेपालमा बीमालेख बिक्रीका माध्यमबाट संकलन हुने बीमाशुल्कमा अभिकर्ता र वैकल्पिक वितरण माध्यमको योगदान कति छ भन्ने तथ्य नियामक नेपाल बीमा प्राधिकरणले सार्वजनिक जानकारीमा ल्याउन सकेको छैन । बीमा क्षेत्रको लामो अनुभवका आधारमा नेपालमा ९८ प्रतिशत बीमाशुल्क आम्दानी अभिकर्ताका माध्यमबाट नै भइरहेको अनुमान गर्न सकिन्छ । इन्टरनेट, डिजिटल एप्स, बैंकको संलग्नतालगायतका वैकल्पिक वितरण प्रणालीमार्फत २ प्रतिशतको हाराहारी बीमाशुल्क आम्दानी भइरहेको अनुमान गर्न सकिन्छ ।

बीमा व्यवसायमा उल्लेखनीय योगदान दिइरहेका बीमा अभिकर्ताहरुलाई निरुत्साहित पार्ने उद्देश्य सहित केही समययता अभिकर्ताको कमिशन र प्रोत्साहन सुविधामा कैंची चलाउने काममा जीवन बीमा कम्पनी र नियामक स्वयम् पनि रणनीतिगतरुपमा लागि परेको अवस्था छ । अभिकर्ताभन्दा थोरै लागतमा बीमालेख बिक्री गर्ने विकल्पहरुको खोजीमा प्रत्यक्ष बिक्री गर्ने, बैंकको प्रयोग बढाउने र डिजिटल वालेटका माध्यमबाट प्रथम् बीमाशुल्क सहित बीमाशुल्क संकलन गर्ने प्रयास बीमा कम्पनीहरुले जारी राखेका छन् ।

जीवन बीमा उद्योगमा जारी यस्तो गतिविधि जारी रहेको पृष्ठभूमीमा बीमा कम्पनीले कुन माध्यमबाट बीमालेख वितरण गर्दा तुलनात्मक लाभ हुन्छ भन्ने उदाहरण यहाँ उल्लेख गरिएको छ । संस्थागत बीमितले प्रत्यक्षरुपमा बीमा गर्दा वार्षिक किस्ता रकममा बीमा अवधिभरका लागी ८ प्रतिशतका दरले छुट प्राप्त गर्छन् ।१५ वर्षे बीमा अवधिमा यस्तो छुट वार्षिक किस्ताको १२० प्रतिशत कायम हुन आउँछ । अर्कोतर्फ बीमा अभिकर्तालाई बीमा कम्पनीले पहिलो वर्ष २५, दोश्रो वर्ष १५ र तेश्रोदेखि दशौं वर्षसम्मका लागी वार्षिक किस्ताको ५ प्रतिशत रकम पारिश्रमिक वापत प्राप्त गर्छन् । यसरी पहिलो र दोश्रो वर्षको कूल ४० प्रतिशत र बाँकी ८ वर्षको वार्षिक ५ प्रतिशतका दरले ४० प्रतिशत समेत जम्मा ८० प्रतिशत पारिश्रमिक कायम हुन्छ ।
उदाहरणका लागी कुनै व्यक्तिको १० लाख रुपैयाँ बीमाङ्कको १५ वर्षे अवधिको वार्षिक रु.७५,००० किस्ता भुक्तानी गर्ने गरी बीमा अभिकर्ता मार्फत् बीमा गर्दा र कुनै कम्पनीले प्रत्यक्षरुपमा बीमा कम्पनीसँग बीमा गर्दा हुने खर्चको गणना तल दिएको तालिकाले प्रष्ट पार्छ ।

अभिकर्ताले १५ वर्षमा पाउने पारिश्रमिक वापतकाे जम्मा रकम

प्रत्यक्ष बीमावापत संस्थागत खरिदकर्ताले १५ वर्षमा पाउने जम्मा छुट रकम

अभिकर्तामार्फत् जीवन बीमा गराउँदा बीमा कम्पनीका लागी बीमा अवधिभरमा कूल रू. ३०,००० बचत हुन्छ ।

 

याे गणनामा प्रत्यक्ष कमिशन र छुट वापतकाे रकमलाई मात्र समावेश गरिएकाे छ।

वार्षिक बीमाशुल्क रू. ७५,००० काे ८० प्रतिशत अर्थात् रू. ६०,००० रू. ७५,००० काे १२० प्रतिशत अर्थात् रू. ९०,०००

बीमा अभिकर्ताबाट बीमाशुल्क संकलन गर्दा जीवन बीमा कम्पनीलाई बीमा अवधिभरमा वार्षिक किस्तावापतकाे रकमकाे ४० प्रतिशत अर्थात रु.३०,०००  को बचत हुन्छ । कमिशनवापतको खर्च रकम बचत हुँदा यसको सिधा प्रभाव बीमितले प्राप्त गर्ने बोनश दरमा पर्छ । नाफाको तुलनामा खर्च जति थोरै भयो, बीमितले प्राप्त गर्ने बोनश दर उति बढी हुन्छ ।

यो तथ्यको ज्ञान कम्पनीहरुलाई हुँदा हुँदै पनि किन वैकल्पिक वितरण प्रणाली प्रतिको मोह बढ्न गएको हो भन्ने अनुमान गर्न कठिन छ । नेपालमा पनि कम्पनीहरुले बैंकास्योरेन्स, वैकल्पिक वितरण प्रणालीलाई प्रवद्र्धन गर्नका लागी यो क्षेत्रमा उल्लेख्य लगानी गरी रहेका छन् ।

हालै नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुको विवरण सार्वजनिक गर्दा करिब ५ लाख अभिकर्ता पेशाबाट पलायन भएको वा इजाजत पत्र नविकरण गर्न अनिच्छुक देखिएको छ । यसो हुनुमा बीमा ऐन २०७९ मा एक अभिकर्ता एक बीमक सम्बन्धी नीतिले पनि थोर बहुत प्रभाव पारेको तथ्यलाई नकार्न सकिन्न ।

अभिकर्ताकाे साखकाे भरमा बीमा व्यापार

जीवन बीमा कुनै व्यक्तिसँग लामो समयावधीसम्मका लागि बीमा कम्पनीले दिएको बीमालेख अनुसारको शर्त तथा प्रावधान बमोजिम रकम भुक्तानी दिने बाचा हो । त्यही बाचा बेच्न बीमा कम्पनीहरुले अभिकर्ता वा अन्य वितरणको माध्यम प्रयोग गर्छन् । कार्य क्षेत्रमा आफ्नो शीप तथा बिक्रय कला सँगसँगै व्यक्तिगत साखको भरमा अभिकर्ताले बीमितलाई आश्वस्त तुल्याएर लामो समयावधिका लागी बीमाशुल्क संकलन गर्छन् । कम्पनीले यस वापत अभिकर्ताहरुलाई पारिश्रमिकको व्यवस्था गरेको हुन्छ (बीमा ऐन तथा नियमावली अनुसार) । नेपालमा जहाँ अभिकर्ताको माध्यमबाट ९८ प्रतिशत व्यवसाय गर्ने कम्पनीले अभिकर्तालाई अझ धेरै व्यवसायीक, अझ धेरै क्षमता विकाश गर्नुपर्नेमा महँगा होटलमा भोजभतेर, रमझम र सम्मान कार्यक्रममा मात्रै बीमा कम्पनी नेतृत्वको ध्यान सीमित भएको देखिन्छ । यसले सीमित संख्यामा अभिकर्ताले गरेको मिहिनेतको कदर हुन्छ, तर वृत्ति विकासमा कुनै ठोस योगदान पुर्‍याउँदैन । खर्चिलो तामझामले अभिकर्ताको मनोबल उच्च बनाएर कार्य सम्पादन वृद्धिमा कतिको योगदान पुर्‍याएको छ भन्ने विषयमा उच्च व्यवस्थापन र सञ्चालक समितिले पनि विचार पुर्‍याउनु जरुरी छ ।

 बैंकास्योरेन्सकाे तीताे अनुभव

संस्थागत अभिकर्तालाई प्रोत्साहन गर्नुको दुष्परिणाम बैंकास्योरेन्सको अभ्यासले कहिल्यै नमेटिने गरी जीवन बीमा व्यवसायमा पारेको नकारात्मक प्रभावले प्रमाणित गरिदियो । ऋणीलाई डरत्रास देखाएरै भएपनि ठूलो बीमांकको जीवन बीमा गर्न बाध्य पारेको व्यापक गुनासो पछि बैंकास्योरेन्सले गति लिन नपाउँदै जीवन बीमा व्यवसायका लागी नेपाल राष्ट्र बैंकले  बैंकास्योरेन्सको च्याप्टर नै बन्द गरिदियो ।  बैंकास्योरेन्स मार्फत् जारी गरिएका बीमालेखको नविकरण दर ज्यादै कमजोर छ । यीनै कारणले पनि जीवन बीमा व्यवसायलाई दिगोरुपमा चलायमान बनाउन अभिकर्ताहरुलाई अझ व्यवसायीक प्रशिक्षण दिन अपरिहार्य छ । जसरी शेयर बजारमा कुनै शेयर खरीदका लागी दलाल कम्पनीको संलग्नता अनिवार्य हुन्छ, त्यसैगरी जीवन बीमाका लागी पनि अभिकर्तामार्फत् नै जानुपर्ने प्रावधान लागू हुन सकेको अवस्थामा मात्र अभिकर्ताले जीवनयापनका लागी यही पेशालाई स्वीकार्ने वातावरण निर्माण हुनेछ ।

अभिकर्ताकाे बिस्तारित भूमिका

नेपालमा अझैसम्म पनि बीमा अभिकर्तालाई बीमालेख बिक्री गर्ने भूमिकामा मात्र सीमित गरिएको छ । बीमालेख बिक्री गरिसके पछि बीमा अवधिभरको लामो समय क्रममा बीमितको अवस्था र आवश्यक्ता दुबैमा तात्विक फरक आई सकेको हुन्छ । यस्तो अवस्थामा अभिकर्ताले बीमितको परिवर्तित आवश्यक्तालाई नजिकबाट बुझेको हुन्छ र त्यसै अनुरुप थप बीमा गर्न, बीमाको रकम लगानीका रुपमा व्यवस्थापन गर्न, बीमालेख धितोमा कर्जाको उपभोग गर्न लगायतका महत्वपूर्ण वित्तीय सुझाव दिन सक्छन् । नेपालमा अझैसम्म पनि अभिकर्तालाई वित्तीय सल्लाहकारको हैसियत प्रदान गरिएको छैन वा अभिकर्ता स्वयम्ले पनि तालिम, प्रशिक्षण र सिकाईको अभावमा आफूलाई वित्त सल्लाहकारमा रुपान्तरण गर्न सकेको छैन ।

नेपालमा अहिलेसम्म अभिकर्ताहरुले ४ दिने प्रारम्भिक तालिम र केही सीमित अभिकर्तालाई एक दुई दिनका लागी उपलब्ध गराउने सामान्य तालिम बाहेक कुनै विशेष तालिम तालिका बनाएर कार्यान्वयमा ल्याउने अभ्यान हुन सकेको छैन । अभिकर्ता लक्षित कुनै प्रशिक्षण केन्द्रकोे व्यवस्था छैन । बीमा प्राधिकरणले शिक्षण संस्था सञ्चालन गर्ने विषय आम सञ्चारमाध्यममार्फत् प्रकाशमा आए पनि यसको समय सीमा र संरचना सुनिश्चित गरिएको छैन । व्यवसायीक दक्षताको अभावमा अभिकर्ताको मानसिकतामा असुरक्षापन हाबी हुँदा पेशाबाट छोटो समयमै पलायन हुने प्रवृत्तिले प्रश्रय पाउँछ । यसको विपरित प्रशिक्षण, तालिम,भ्रमण, अनुभव आदान प्रदानबाट अभिकर्ताले पेशागत दक्षता अभिवृद्धिको अवसर प्राप्त गर्दा यो पेशामा आकर्षित बनाई राख्न उर्जा मिल्छ ।

कम्पनीले पनि आफ्नो अभिकर्तालाई अझ धेरै पशिक्षित गरी अभिकर्ता तर्फ लगानी गर्ने हो कम्पनीलाई व्यवसायको लागि अन्य वितरण माध्यमको आवश्यकता नै पर्दैन । अभिकर्तालाई नै सर्वोपरि मानेर हिंड्ने हो भने सम्पूर्ण बीमा क्षेत्रको व्यवसाय विकास हुने कुरामा दुइमत छैन ।

(नेपाली  बीमा क्षेत्रमा दुई दशक कार्य गरेका सिंघल अनुभवी बीमाका जानकार हुन् )

Leave a Reply