विदेशमा बस्ने नेपालीले नेपालमा जीवन बीमा गरि कसरी लाभ उठाउने ?
स्वस्थ्य तथा सक्षम नागरिकको जीवन बीमा गर्न पाउने हक नै हो । तर हक भैकन पनि वास्तविक रुपमा नागरिकको हक सुनिश्चित हुन नसकिरहेको हाम्रो सामू प्रत्यक्ष अनुभव रहेको छ । करिब २० लाख भन्दा बढी नेपाली स्वदेश बाहिर नेपालकै विप्रेषण (रेमिटान्स) का लागि रगत पसिना बगाईरहेका छन् । रगत पसिना बगाउन गएकाहरुले १० लाखको बैदेशिक रोजगार बीमा (आवधिक) पनि अनिवार्य गरेकै भएतापनि बीमा चालु भएपश्चात करिब ३ वर्ष पछि बीमितको जोखिम समाप्त हुने गर्दछ । बीमितको मृत्यु पश्चात परिवारका सदस्यहरुलाई क्षतिपूर्ति प्रदान हुने भएतापनि बीमित जीवितै रहेको अवस्थामा दावी हुन सक्दैन । ३ वर्ष पश्चात पनि जोखिम कायम रहने भएकोले बैदेशिक रोजगार बीमा बाहेक कसरी निजहरुको जीवन बीमा गर्न सकिन्छ र बीमाको प्रिमियमबाट व्यवसाय बढाउन सकिन्छ भन्ने आजको चासो रहेको देखिन्छ । विदेशमा बस्ने नेपालीले नेपालका कुनै कम्पनीमा बीमा गर्न नमिल्ने वहस बेला बेलामा चल्ने गरे तापनि त्यस्ता वहसको तुक नै छैन् ।
कसरी गर्ने?
विदेशमा बस्ने नेपालीले कम्पनीको अभिकर्ता मार्फत वा कम्पनीमा प्रत्यक्ष सम्पर्क गरि विदेशबाटै कागजपत्र स्क्यान गरि कम्पनीले तोकको वा ननमेडिकलको सीमा अनुसारको बीमाङ्कसम्म मात्र बीमा गर्न सक्ने व्यवस्था गर्न सके व्यवसाय बढाउन सकिन्छ । यसरी बीमा गर्दा व्यक्तिको स्वास्थ्य जोखिम हुन सक्ने भएकोले आवश्यकतानुसार ननमेडिकल सीमामा भएतापनि अण्डरराईटरको तजबीजमा कार्यरत देशको आर्थिक, सामाजिक, स्वास्थ्य अवस्था अनुसार स्वास्थ्य परीक्षण गराउन सकिन्छ । बिदेशमा स्वास्थ्य परीक्षण गरेको शुल्क परिवर्तित मुद्राको कारणले कम्पनीले सोधभर्ना गर्ने सीमा भन्दा बढी नै महं“गो पर्ने भएकोले शुल्क फिर्ता गर्न आवश्यक छैन् । विदेशमा कार्यरतले पेशा अनिवार्य खुलाउनु पर्दछ । पेशाको जोखिमपन अनुसार अतिरिक्त शुल्क लाग्न सक्दछ । तर दुर्घटना लाभ बाहेक अन्य लाभ दिनु हुदैन् यसले अधिक जोखिम हुने गर्दछ । यसका अलावा नेपाल आएका बखत आवश्यकतानुसारको प्रकृया गरि बीमा गर्न सकिन्छ ।
कागजात के के आवश्यक हुन सक्दछन्?
विदेशमा सबै व्यक्ति वैध रुपमा बसेका हुदैनन् । अतः बीमा गर्ने व्यक्तिले सर्वप्रथम आवश्यक फारामहरु भर्ने, वैध पासपोर्टको प्रतिलिपी, भिसा प्रतिलिपी, आय गर्दे रहेकोमा आवश्यतानुसार करार पत्रको प्रतिलिपी, मासिक तलबी विवरण, कार्यरत संस्थाले पद खुलाई जारी गरेको परिचय पत्र अंग्रजी भाषामा उल्लेख भएको पठाउनु पर्दछ । तर अंग्रजी भाषा बाहेकमा हकमा भने आफ्नै खर्चमा अंग्रजी भाषामा उल्था गरि पठाउने व्यवस्था हुनु पर्दछ ।
वीमित वा प्रस्तावक नेपाली पासपोर्ट धारक भएको र वैध रुपमा कार्य गर्न वा अध्ययन गर्न अनुमति प्राप्त गरेको भए आय स्रोत खुल्ने कागजात संलग्न गरेको हुनु पर्दछ । नाबालकको हकमा विदेशमा जन्मेको भए अंग्रजी भाषामा जन्म प्रमाणपत्र पेश गर्नु पर्दछ र प्रस्तावकले बीमाशुल्क तिर्ने कबूल गरेको निवेदन संलग्न गर्नु पर्दछ । भारतमा बस्ने नेपालीलाई व्यवस्थामा केहि खुकुलो र फरक गराउन सकिनेछ ।
विदेशमा कार्यरत सबैले बीमा गराउन पाउछन् त?
विदेश भन्दैमा सबै देशमा कार्यरतले बीमा गर्न पाउदैनन् । नेपाल सरकारबाट ११० देशमा संस्थागत रुपमा बैदेशिक रोजगारका लागि खुल्ला गरिएको भएतापनि ३ देशहरुमा वैदेशिक रोजगारकाल लागि प्रवेश नै रोक्का गरिएका कारणले प्रवेश गरि कार्यरत भएतापनि जोखिमयुक्त हुने कारणले बीमा गराउन सकिदैन । अतः १०७ देशमा बैध रुपमा रोजगार अनुमति लिई प्रवेश गरेका नेपालीलाई जीवन बीमा गर्न दिन सकिन्छ ।
कम्पनी आफै जोखिम लिने निकाय हो । अतः कति बीमाङ्क रकमसम्मको जीवन बीमा गर्न प्रोत्साहन गर्ने भन्ने विषयमा कुनै तात्विक प्रतिउत्तर पाउन सकिदैन् । तसर्थ, रिटेन्सन सीमासम्म वा नन मेडिकल सीमासम्म बीमा गराउन सके व्यवसायमा बढोत्तरी हुन सक्दछ ।
कतिको जोखिम छ त?
बिदेशबाट प्राप्त हुने रकम जोखिमयुक्त क्षेत्रबाट बीमा क्षेत्रमा प्रवेश गराई सम्पत्ति शुद्धिकरण गर्न सजिलो माध्यम हुन सक्ने भएकोले जोखिम हुन सक्दछ । अझ कानूनले वर्जित गरेका व्यवसायबाट आर्जित रकमहरुलाई बीमा क्षेत्रमा प्रवेश गराई सम्पत्ति शुद्धिकरण गर्न समेत सकिने सम्भावना रहेबाट अधिक जोखिमयुक्त व्यवसाय हुन सक्ने भएकोले बीमाङ्क रकम तथा बीमाशुल्क प्रति सचेत भई कार्य गर्नु पर्दछ । साथै, अन्तराष्ट्रिय क्षेत्रले समेत प्रतिबन्ध लगाएका समूह, अवैध तवरले आय भएका, हातहतियार बिक्रीबाट प्राप्त आय समेत प्रवेश हुने सम्भावना अधिक हुने गर्दछ ।
अभिकर्ताहरुले ल्याएका व्यवसायहरु पूर्णत परम सदविश्वासको सिद्धान्तमा आधारित हुने भएता पनि व्यवसाय आउ“दैमा लिन हतार गर्नु हुदैन तर सम्पूर्ण जा“चपडताल, परीक्षण गरि एकिन भएपश्चात मात्र व्यवसायमा प्रवेश गराउनु पर्दछ ।
आफ्ना बजार प्रतिनिधिहरु, कर्मचारीहरुलाई प्राप्त हुने व्यवसाय तथा जोखिमका सम्बन्धमा सूचना तथा जानकारी दिनु पर्दछ । साथै, नियमन निकायबाट जारी भएका निर्देशिकाहरु, मौजुदा परिस्थितिका परिवर्तनहरु, नीति नियमहरु, व्यवसाय गर्दा ध्यान दिने व्यवस्थाहरुबारे समय समयमा जानकारी प्रदान गर्नु पर्दछ ।
निष्कर्षः
सम्पत्ति शुद्धिकरण सम्बन्धि कानूनमा भएको व्यवस्था जानकारी गराई गलत कार्य हुन सक्ने सम्भावनाबारे सचेत गराउने कार्यले वैध रुपमा वैदेशिक रोजगारका लागि खुल्ला गरिएको देशबाट उल्लेख्य मात्रामा व्यवसाय ल्याउन सकिन्छ । तर सम्पत्ति शुद्धिकरण गर्न सजिलो माध्यम हुन सक्ने भएकाले सचेत भने हुनै पर्दछ ।
( कोईराला राष्ट्रिय बीमा संस्थानमा बीमा विज्ञका रुपमा कार्यरत छन् )