Uncategorized

बीमामा सिद्धान्त भनेको के हो ?

बीमामा सिद्धान्त भनेको के हो ? कति प्रकारका हुन्छन् यस्का सिद्धान्त

१३ कार्तिक २०७८, शनिबार ११:००

 

काठमाडौं । बीमाका सिद्धान्तहरु जोखिम हस्तान्तरणको माध्यमको रुपमा बीमाले करारका रुपमा आफ्नो कार्य कार्यान्वयन गरिरहँदा र यसको क्रमिक विकास भइरहँदा यसमा समस्या एवं विवाद समेत थपिँदै गएको पाईन्छ ।यस्ता समस्याहरुको समाधान र भविष्यका लागि नजिक निर्माणका काममा नै क्रमशः यसका सिद्धान्तहरुको विकास पनि हुँदै गएको छ ।

बीमामा सिद्धान्त भनेको एक प्रकारले नियमको निर्माण गर्ने प्रक्रिया हो । सिद्धान्त बीमाको कारोबारलाई निर्देशित गर्ने पक्ष हो र संसारका सबै देशमा बीमाका सिद्धान्तहरु प्रायः सबै एकै किसिमले निर्देशित हुन्छन् र लागु पनि हुन्छ ।

बीमा प्रस्ताव कसले गर्न पाउने ? प्रस्ताव गर्दा प्रस्तावको कर्तव्य के के हुने ? के कस्तो जोखिम हस्तान्तरणको माग गरियो र क्षति केबाट भयो ? क्षति कति भयो र कसरी दिनुपर्ने देखियो ? क्षति उत्पन्न हुँदा अर्को कुनै तेस्रो पक्ष जिम्मेवार देखियो कि ?

प्रस्तावक आफैंले वा अरुको तर्फबाट एउटै विषयलाई दुई वा बढी बीमा करार गरेको कि ? यस्तै काम कारबाहीको लागि निर्देशित सिद्धान्तहरुको प्रयोग गरिन्छ । यी सिद्धान्तका वोध गरेपछि नै बीमाको बारेको ज्ञान स्पष्ट हुन्छ ।

बीमाका आधारभूत सिद्धान्तहरु यस्ता छन्,

१. बीमायोग्य हितको सिद्धान्त

जोखिम हस्तान्तरण गरी बीमा करार गर्न प्रस्ताव गर्दा संरक्षण हुने बिषय बस्तुमा प्रस्तावकको बीमायोग्य हितको उपस्थिती हुुनुपर्ने हुन्छ । प्रस्ताव केको गरिएको छ ?
करारमा के –के बीमा गरिएको छ यी सबै कुरा खुल्न जरुरी छ । जस्तै मोटर बीमा हुँदा एक ठोस बस्तु मोटरको बीमा गरिएको हो भनिन्छ तर सो नभई उक्त मोटर बीमाके बिषयबस्तुु मात्र हो । यस्तै घर, सामान, हवाइजवाज, दायित्व पनि बीमाका विषयबस्तुहरु हुन् । बीमाको विषयवस्तु उपर बीमा गर्ने ब्यक्ति (वीमित) को मौद्रिक हित वा स्वार्थ रहेको हुन्छ भने सोही स्वार्थ वा हितलाई बीमायोग्य हित भनिन्छ । बीमा गर्ने ब्यक्ति र बीमाको विषयबस्तु सम्पत्ति वा दायित्व उपर रहेको कानुन समेत अधिकार अनुरुप आर्थिक रुपमा नाप्न सकिने स्वार्थ नै बीमा योग्य हित वा स्वार्थ हो ।

२. परम सद्विश्वासको सिद्धान्त

बीमा खरिद गर्न चाहने प्रस्तावकले बीमकले जारी गर्र्न सक्ने बीमालेख र त्यसका सर्तहरुका नमुनाहरु अग्रिम रुपमा अध्ययन गर्र्न सक्दछ तर बीमकले बीमालेख जारी गर्न आवश्यक पर्ने सबै तथ्यहरु पाउन सक्दैन । बीमकले प्रस्तावित जोखिमको निरीक्षण गर्न गराउन सके तापनि जोखिमसँग सम्बन्धित सबै तथ्यका निमित्त प्रस्तावकले उपलब्ध गराएको सूचनाको हदसम्म मात्र ज्ञान पाउँछन् ।

यस्तो परिस्थितिको समाधान गर्न बीमा करारमा परम सद्विश्वासको सिद्धान्तको जन्म हुन गयो र बीमा करारलाई परम सद्विश्वासको करारको संज्ञा दिइयो । बीमकको हकमा पनि यस सिद्धान्तको पालना गर्नका लागि बीमितलाई बेफाइदा हुने गरी करार गर्न नपाउने, कानुनले मान्यता नदिने बीमा प्रस्ताव भएमा सो बीमा गर्न नपाउने र भ्रम पर्ने गरी शर्तहरु उल्लेख गर्न नपाउने कर्तव्य रहन्छ ।

३. नजिकका सम्बन्धको कारणको सिद्धान्त

बीमा करार हुँदा करार पक्ष बीमित र बीमक दुुवैलाई स्पष्ट हुने गरी कुनकुन जोखिम विरुद्ध बीमा भएको छ सो किटान हुनु जरुरी छ । सो भएमा मात्र दुवै पक्षको करार प्रतिको धारणा खुलस्त हुन्छ । बीमाको क्षतिपूर्ति दिने दायित्व बीमा करारमा किटान गरिएको जोखिमको घटनाको नजिकको कारणमा मात्र निर्भर रहन्छ । यो निर्जीवन बीमामा लागु हुने अर्र्की महत्वपूर्ण सिद्धान्त हो । आगलागी भएमा मात्र क्षतिपूर्ति दिने भनी गरिएको करारमा बाढीबाट घर नोक्सान भएमा सो क्षतिपूर्ति हुँदैन । बीमा करारमा बीमा भएका जोखिम, बीमा नगरिएको वा नहुने अपवाद परेका जोखिम एवंम अन्य जोखिम सबै उल्लेख भएका हुन्छन ।

४. क्षतिपूर्तिको सिद्धान्त

बीमा जोखिम हस्तान्तरण गरी बीमा गरिएको जोखिमबाट भएको क्षतिपूर्ति लिने कार्य भएकाले यो सिद्धान्त बीमाको केन्द्रविन्दु मानिन्छ । कुनै क्षति पश्चात बीमितलाई आर्थिक रुपले क्षतिपूर्ति प्रदान गरी साविककै अवस्थामा पुराउने सिद्धान्त हो ।

५. प्रत्यासनको सिद्धान्त

कुनै क्षतिपूर्तिको सिद्धान्तमा उल्लेख क्षति भए अनुसार बीमितलाई आर्थिक रुपले क्षतिपूर्ति दिई साविककै अवस्थामा पुराइदिनुपर्दछ । कुनै समयमा यस्तो परिस्थिति पर्नसक्छ जहाँ बीमितिले बीमक बाहेक अन्य स्रोतबाट असुल गर्न पाउने ठाउँ रहन्छ । जीवन बीमा परेबापत हकवालाले बीमकबाट क्षतिपूर्ति पाए यस्तो रकममा बीमकले हक लाग्दैन । जीवन बीमालेखमा भने प्रत्यासनको दफा नै राखिएको हुँदैेन ।

६. योगदानको सिद्धान्त

एउटै सम्पत्तिको बीमा अर्को वा दोस्रो बीमा कम्पनीमा पनि गराएको र क्षतिपूर्ति एउटा बीमा कम्पनीसँग माग गरिएको अवस्था आएमा अर्को बीमा कम्पनीले बीमाशुल्क बुझेको भए पनि दायित्वबाट अलग हुने स्थिति हुन्छ । बीमा गरिएको सम्पत्तिको हान – नोक्सानी बीमित वा अरु कुनै ब्यक्तिले सोही सम्पत्ति अरुसँग पनि बीमा गराएको रहेछ भने बीमकले सो सम्पत्तिको लागि नोक्सानी भएको समानुपातिक रुपले दिनुपर्ने क्षतिपूूर्तिभन्दा बढी दिने छैन भन्ने शर्त निर्जीवन बीमातर्फको सम्पत्तिको बीमालेखमा उल्लेख गरिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *