Uncategorized

अभिकर्ता लाइसेन्स खारेज गर्नु अगाडी

दोहोरो अभिकर्ता लाइसेन्स खारेज गर्नु अगाडी सफाइपत्र अनिवार्य, यस्तो छ खारेजी प्रकृयाँ

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ को व्यवस्था अनुरुप दोहोरो अभिकर्ताको लाइसेन्स खारेजीको प्रकृयाँ अगाडी बढाएको छ । बीमा ऐन २०७९ को दफा ९५ को उपदफा २ मा ‘कुनै बीमा मध्यस्थकर्ताले आफ्नो इजाजतपत्र खारेज गर्न निवेदन दिएमा प्राधिकरणले आवश्यक जाँचबुझ गरी खारेज गर्न सक्ने छ’ भन्ने कानुनी व्यवस्था अनुरुप प्राधिकरणले प्रकृयाँ अगाडी बढाएको हो ।

यसरी उस्तै प्रकृतिका दुई वा सो भन्दा बढी बीमा कम्पनीबाट अभिकर्ताको काम गर्दै आइरहेका अभिकर्ताले कुनै एउटा कम्पनीको इजाजतपत्र खारेज गर्न चाहेमा सबैभन्दा पहिला निवेदन दिनु पर्नेछ । यस क्रममा इजाजतपत्र खारेज गर्न चाहने अभिकर्ताले संकलन गरेको बीमा शुल्क, सो बीमकबाट प्रदान गरिएको प्रोत्साहन, प्रवर्द्धन, सवारी वा करार बमोजिमको अन्य कुनै दायित्व भए सम्बन्धित बीमा कम्‍पनीले फरफार गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।

यदि कुनै दायित्व बाँकी रहेको भए सम्बन्धित बीमा कम्पनीले अभिकर्तालाई निश्चित अवधिभित्र पुरा गर्ने कबुलियतनामा पेश गर्नु पर्नेछ । यसका साथै बीमा कम्पनीले पनि अभिकर्तालाई आफु मार्फत बीमा गराएका बीमितहरुको बीमालेखको अवधिसम्म अनिवार्य सेवा प्रदान गर्ने लिखित प्रतिवद्धता व्यक्त गराउनु पर्ने व्यवस्था गरिएको छ ।

अभिकर्ता खारेजी गर्न अभिकर्ताले दिएको लिखित निवेदन उपर बीमा कम्पनीले बढिमा ७ दिन भित्र सफाईपत्र उपलब्ध गराउनु पर्ने प्राधिकरणले जनाएको छ । यदि सफाइपत्र उपलब्ध गराउन नसक्ने भए सोको कारण सहित नेपाल बीमा प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ ।

बीमा कम्पनीले ७ दिन भित्र सफाइपत्र उपलब्ध नगराएमा वा गराउन नसकेको जानकारी नेपाल बीमा प्राधिकरणलाई नगराएमा प्राधिकरणले स्वतः इजाजतपत्र खारेजीको प्रकृयाँ अगाडी बढाउने भएको छ ।

नेपाल बीमा प्राधिकरणले यहि फागुन २२ गतेसम्म बीमा कम्पनीहरुलाई अभिकर्ताको अत्यावस्यक विवरण अध्यावधिक गर्न निर्देशन दिएको छ । फागुन २२ गते पछि दोहोरो अभिकर्ताको विवरण नेपाल बीमा प्राधिकरणको अनलाइन प्रणालीले नै पत्ता लगाउने छ । यसरी प्राधिकरणको अनलाइन प्रणालीले पत्ता लगाएका दोहोरो लाइसेन्स लिएका अभिकर्ताहरुका लागि यस्तो व्यवस्था गरिएको हो ।

हालसम्म बीमा प्राधिकरणको अनलाइन प्रणालीमा जीवन बीमा कम्पनीहरुले एक लाख ३० हजार भन्दा बढी अभिकर्ताको विवरण अध्यावधिक गरिसकेको छ । जसमा बीमा अभिकर्ताको लाइसेन्सको प्रमाणपत्र, नागरिकता, प्यान नम्बर, एसएलसी वा सो भन्दा माथिको शैक्षिक योग्यताको मार्कसिट तथा चारित्रिक प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ ।

प्राधिकरणले प्यान नम्बरलाई आधार मानेर दोहोरो अभिकर्ताको विवरण पत्ता लगाउदैछ । नागरिकता नम्बरका आधारमा मात्रै हेर्दा नागरिकता नम्बर दोहोरो हुने भएकाले छुट्ट्याउन गाह्रो छ । तर आन्तरिक राजस्व विभागले जारी गर्ने प्यान नम्बर सबैको फरक फरक हुने भएकाले यसैलाई आधार मान्न थालेको हो । प्यान नम्बरमा पनि दोहोरो विवरण देखिए पनि प्राधिकरणले नागरिकता नम्बरलाई ट्रायल गरेर भेरिफाइ गर्ने व्यवस्था मिलाएको छ । अभिकर्ताहरुले आगामी चैत मसान्त भित्रमा अभिकर्ता लाइसेन्स नविकरण गर्नु पर्ने छ । प्राधिकरणले दोहोरो अभिकर्ताको विवरण पत्ता लगाउने वित्तीकै नविकरणको प्रकृयाँ सुरु गर्नेछ ।

One thought on “अभिकर्ता लाइसेन्स खारेज गर्नु अगाडी

  1. insurance says:

    Everything is very open with a very clear explanation of the challenges. It was definitely informative. Your website is extremely helpful. Thanks for sharing!

Leave a Reply

Your email address will not be published. Required fields are marked *