Uncategorized

बीमाकाे दाबी भुक्तानी पाउन के गर्नुपर्छ ?

जीवन बीमाकाे दाबी भुक्तानी पाउन के गर्नुपर्छ ?

काठमाडौं । जीवन बीमा याेजना अन्तर्गत बीमितले दाबी भुक्तानी प्राप्त गर्ने फरक फरक शर्तहरू हुन्छन् । बीमितले राेजेकाे सुविधा र बीमालेखकाे किसिमका आधारमा दाबी भुक्तानीकाे लागी शर्तहरू तय गरिएका हुन्छन् । बीमितले वा बीमितकाे इछ्याइएकाे व्यक्ति वा हकवालाले दाबी भुक्तानी प्राप्त गर्न पूर्व निर्धारित औपचारिकता र प्रकृयाहरू पुरा गर्नु जरूरी हुन्छ । यस्ताै औपचारिकता अन्तर्गत दाबी भुक्तानीकाे लागी    आवश्यक कागज प्रमाणदेखि लिएर समयावधि समेत तय गरिएकाे हुन्छन् । पर्याप्त कागजपत्रकाे अभाव वा ताेकिएकाे समयावधि नाघेर गरिएकाे बीमा दाबीलाइ बीमकले अस्वीकार गरिदिन वा तामेलीमा राखिदिन सक्छ । जीवन बिमा याेजना अन्तर्गत गरिने दाबी विभिन्न प्रकारका हुन्छन् । अग्रिम भुक्तानी दाबी, परिपक्वता दाबी, बीमाशुल्क छुट सुविधा, मासिक आय  लाभ, शैक्षिक खर्च सुविधा, आंशिक वा पूर्ण अपांगता सुविधा, घातक राेगविरूद्ध उपचार खर्च सुविधा लगायतका सुविधा अन्तर्गतकाे दाबी भुक्तानी प्राप्त गर्न बीमक समक्ष लिखितरूपमा दाबी गर्नुपर्छ ।

दाबी भुक्तानी प्राप्त गर्नका लागी पुरा गर्नुपर्ने प्रकृयाहरूबारे यहाँ केही चर्चा गरिएकाे छ ।

१. परिपक्वता दाबीको लागि औपचारिकताहरूः बीमा अवधि पुरा भएपछि बीमितले बिमा कम्पनीबाट प्राप्त गर्ने रकम नै परिपक्वता दाबी भुक्तानी वापतकाे रकम हाे । सामान्यता बीमा कम्पनीले बीमितलाइ बीमा परिपक्वता अवधि पुरा भएपछि बीमितलाइ दाबी भुक्तानी लिन       आउनकाे लागी पूर्व सूचना पठाउने गर्छन् । तर कमजाेर नियमनका कारणा नेपालमा अझै पनि याे पूर्ण रूपमा अभ्यासमा आउन सकेकाे छैन । तसर्थ बीमित आफैं चनाखाे भएर बीमा परिपक्व अवधि पुरा भएपछि बीमा कम्पनी समक्ष भुक्तानीकाे लागी दाबी गर्नुपर्छ ।

क. दाबी भुक्तानीकाे लागी आवेदन फारम भरेर बुझाउने ।

ख. आवेदन फारम भरेर बुझाउँदा बीमितले आफ्नाे बैंकखाता सम्बन्धी  विवरण समेत आवेदन फारम वा हस्त लिखित निवेदनमा उल्लेख गर्ने ।

ग. बीमितले आफ्नाे परिचय खुल्ने नागरिकता वा पासपाेर्टकाे सक्कल प्रति देखाएर बीमकलाइ छायाँ प्रति (फाेटाे कपि ) उपलब्ध गराउने ।

घ. सक्कली बीमालेख सहितकाे फाइल बीमा कम्प्नीकाे शाखा वा उपशाखा कार्यालयमा निवेदनसँगै नत्थी गरेर हस्तान्तरण गर्ने ।

ङ. आवश्यक सबै प्रकृया पुरा भएपछि दाबी भुक्तानी दिनु अघि बीमा कम्पनीले बीमितलाइ दाबी फर्छ्याैट पूर्जामा हस्ताक्षर गराउँछ।

च. सम्पूर्ण कागज पत्र सहित आवेदन दिएकाे अवस्थामा एक घण्टाभित्र बीमकले दाबी भुक्तानीवापतकाे चेक उपलब्ध गराउँछ वा सिधै बीमितकाे बैंक खातामै रकम जम्मा गरिदिन्छ ।

२. मृत्यु दाबीको लागि औपचारिकता जब जीवन बीमा याेजना धारक व्यक्ति – जसलाई बीमित भनिन्छ -काे मृत्यु हुन्छ, बीमा कम्पनीलाई जतिसक्दो चाँडो लिखितरूपमा दाबी सूचना पठाउनुपर्छ। बीमालेखमा उल्लेख गरिएकाे मनाेनित व्यक्ति र त्यस्ताे व्यक्ति नभएकाे अवस्थामा कानूनीरूपमा नजिककाे हकवालाले बीमितकाे मृत्युकाे सूचना दिनसक्छ। वा कुनै पनि नजिकको नातेदार वा अभिकर्ताले पनि जानकारी दिनसक्छ। बीमितकाे मृत्युबारे दाबी सूचनामा मृत्युको मिति, स्थान र कारण जस्ता जानकारी समावेश हुनुपर्छ। बीमा अभिकर्ताले यसकाे लागी बीमितलाइ सहजीकरण गरिदिनु उसकाे कर्तव्य हुन्छ ।

मृत्यु दाबीकाे लागी निम्न लिखित कागजातहरू पेश गर्नुपर्छः

• भरिएको दाबी फारम (बीमा कम्पनीले उपलब्ध गराएको दाबी फारममा सम्पूर्ण विवरण भरेर दर्ता गर्नुपर्छ)

• बीमितकाे मृत्यु दर्ता प्रमाणपत्र

• बीमालेखकाे सक्कल कागजात

• दाबीकर्ताकाे विवरण

• दाबीकर्ताकाे परिचय खुल्ने प्रणाम (नागरिकता वा पासपाेर्ट)

• यदि बीमालेखमा कसैलाइ इछ्याइएकाे व्यक्तिकाे रूपमा बीमितले मनाेनयन गरेकाे छैन भने नजिककाे हकवालाकाे नाता प्रमाणित गर्नसक्ने कागज प्रमाण ।

•दुर्घटनाबाट मृत्यु, आत्महत्या वा हत्या भएकाे अवस्थामा प्रहरी अनुसन्धान प्रतिवेदन वा शव परिक्षण प्रतिवेदन (पोस्टमार्टम रिपोर्ट) ।

• उपचारकाे क्रममा निधन भएकाे अवस्थामा अस्पतालमा उपचार गराएकाे कागज प्रमाण ।

यदि बीमितले कुनै संस्थाबाट ऋण लिएवापत बीमालेखकाे अख्तियारी हस्तान्तरण गरेकाे छ भने कुनै अन्य व्यक्ति वा संस्थाको पक्षमा तोकिएको छ – जस्तै आवास कर्जा, बैंक कर्जा, आफू कार्यरत कम्पनीबाट प्राप्त गरेकाे ऋणवापत यस्ताे अख्तियारी हस्तान्तरण गरेकाे हुनसक्छ । याे अवस्थामा बीमितकाे हकवाला साेही अख्तियारी प्राप्त कम्पनी हुनेछ ।

यसरी मृत्यु दाबी गरेकाे १५ दिनभित्र कम्पनीले आवश्यक अनुसन्धान पुरा गरेर बीमितलाइ दाबी भुक्तानी दिनुपर्छ । तर दाबीकाे लागी आवश्यक कागज पत्र नपुगेकाे अवस्थामा वा शंकास्पद दाबी लागेकाे अवस्थामा कम्पनीले आवश्यक अनुसन्धान गर्न सक्छ । तर अनावश्यक ढिलासुस्ती गरेकाे छ भने बीमितले दाबी भुक्तानी दिलाउन माग गर्दै बीमा समितिकाे कार्यालय कुपण्डाेल ललितपुरमा निवेदन दिन सक्नेछन् ।

Leave a Reply