Uncategorized

कस्तो अवस्थामा बीमा दाबी पाइदैन् ?

जानिराख्नुहोस जीवन बीमा अत्यावश्यक हुने चार अवस्था यस्ता छन्

इन्स्योरेन्स खबर

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार ०८:३६

इन्स्योरेन्स शिक्षा   :

तपाईं र तपाईंको परिवारले सुरक्षा र मानसिक शान्तिको सन्दर्भमा जीवन बीमा गर्दा धेरै लाभ उठाउन सक्नुहुन्छ। जीवन बीमाबाट प्राप्त हुने रकम ऋण चुक्ता गर्न, बालबच्चाको शिक्षादिक्षा खर्च, अन्त्येष्टि खर्च व्यहोर्न मद्दत गर्छ । यो बाहेक अकाल मृत्यु भएको अवस्थामा परिवारजनलाई ठूलो आर्थिक टेवा समेत प्रदान गर्छ ।

जीवन बीमा जीवनको कुन उमेरमा गर्ने भन्ने दोधार हुनु स्वाभाविक हो । तर जति कम उमेरमा जीवन बीमा गर्न सकिन्छ, यसबाट प्राप्त हुने प्रतिफल उत्तिनै बढी हुन्छ र बीमाशुल्कवापत तिर्नुपर्ने रकम सस्तो पर्छ ।

तपाईको पेशा व्यवसाय वा सौखको कारणले तपाईले जीवन बीमा आवश्यक पर्ने केही खास अवस्थाहरु हुन सक्छ ।

१) व्यापार व्यवसाय संचालनमा:
तपाईले सम्पत्ति धितो राखेर वा नराखेरै उद्योग व्यापारमा लगानी गर्नु भएको छ भने भविष्यमा आई पर्न सक्ने अप्रत्याशित अवस्थालाई सामना गर्न वा परिवारजनलाई टुट्न नदिनको लागी जीवन बीमा अत्यन्तै जरुरी हुन्छ ।

तपाईको निधनपछि केही समयमको लागी तपाईको व्यापार बन्द रहन सक्छ । व्यापार कस्ले सम्हाल्ने, कहाँबाट शुरु गर्ने भन्नेबारेमा परिवारजनमा अन्यौलताको अवस्था हुनसक्छ । यस्तो अवस्थामा बीमाबाट प्राप्त हुने रकमले परिवारलाई धेरै हदसम्म आत्मबल बलियो बनाउन मद्दत गर्छ ।

जीवन बीमामा दुर्घटना मृत्यु लाभ सहितको सुविधा रोजेको अवस्थामा परिवारजनले बीमांकको दोब्बर रकम भुक्तानी पाउनेछन् । उदाहरणको लागी तपाईले ५० लाख रुपैयाँ बीमांकको जीवन बीमा गर्नुभएको छ र दुर्घटनाका कारण अकाल मृत्यु भएको अवस्थामा परिवारजनलाई बीमा कम्पनीले एक करोड रुपैयाँ दाबी भुक्तानी दिनेछ ।

२) तपाईमाथि आर्थिकरुपमा निर्भर हुनेहरुको लागीः
तपाई परिवारको लागी आयको मुख्य श्रोत व्यक्तिको रुपमा भूमिका निर्वाह गरिरहनु भएको छ भने तपाईमाथि आइपर्न सक्ने वित्तीय संकट वा तपाईको अकाल मृत्युले परिवारजनको समेत बिजोगपूर्ण अवस्था हुन सक्छ ।

तपाईको आमाबाबु, श्रीमति वा श्रीमान, छोराछोरीको भरणपोषण तपाईमाथि नै निर्भर छ भने तपाईले जीवन बीमाको सहायता लिन ढिलो गर्नुहुँदैन । उनीहरुको जीवनस्तर राम्रो बनाउन र तपाई नरहँदा समेत जीवनयापन सहजरुपमा चल्ने अवस्था सुनिश्चित गर्नको लागी जीवन बीमा जरुरी हुन्छ ।

तपाई भर्खरै विवाहित हुनुहुन्छ भने पनि जीवन साथीको आर्थिक सुरक्षाको लागी दम्पत्तिकै जीवन बीमा गर्नु उपयुक्त हुनेछ । जसले गर्दा तपाई एक अर्काको अनुपस्थितिमा पनि जीवन साथीलाई बाँच्न सहज हुनेछ । बालबच्चा छन् भने उनीहरुको शिक्षा दिक्षाको सुनिश्चितताको लागी बालबालिका जीवन बीमा गर्नुभएमा जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्न तपाईलाई सहज हुनेछ ।

३) रोमाञ्चक खेलकुदमा सहभागीता :
तपाई रोमाञ्चपूर्ण खेलकुदमा सहभागी हुन मन पराउनु हुन्छ भने तपाईको लागी जीवन बीमा अत्यन्तै जरुरी हुन्छ । प्याराग्लाइडिङ, बन्जी जम्पिङ, प्यारासुट, जंगली शिकार, लामो दूरीमा आफैंले सवारी हाँकेर यात्रा गर्ने, पर्वतारोहण गर्ने लगायतको कुनै पनि शौख छ भने तपाईले जीवन बीमा गर्नु बुद्धिमानीपूर्ण निर्णय हुनेछ । किनभने यी गतिविधिमा तपाईले जतिसुकै सावधानी अपनाए पनि दुर्घटनाको संभावना जीवितै रहनेछ ।

४) जोखिमपूर्ण पेशाः
तपाई जोखिमपूर्ण पेशा जस्तै चालक, पाइलट, सुरक्षाकर्मी, औद्योगिक मेशिन अपरेटर, डोजर अपरेटर, चिकित्सालगायतको जोखिमपूर्ण पेशामा संलग्न रहनु भएको छ भने जीवन बीमा झनै आवश्यक हुन्छ । यो पेशाहरुमा थोरै पनि लापरवाही, प्राविधिक कारण वा बाह्य कारणले अनाहकमै ज्यान गुमाउनुपर्ने अवस्था हुनसक्छ । तपाईको अप्रत्याशित मृत्यु भएपछि तपाईमाथि नै निर्भर श्रीमान वा श्रीमति, छोराछोरीको बाँकी भविष्य के हुने रु पर्याप्त सम्पत्ति वा नगदको अभावमा उनीहरुको बाँकी जीवनको पालनपोषण, शिक्षा दीक्षा, औषधोपचार, सामाजिक व्यवहार सबै ठप्प हुन सक्छ । त्यसैले जीवन बीमा गर्दा तपाईले आफू नरहँदाको अवस्थामा पनि उनीहरुको जीवनलाई सहज बनाउनको लागी कति रकम आवश्यक पर्न सक्ला भन्ने पक्षमा ध्यान दिएर पर्याप्त रकमको बीमा गर्नु उपयुक्त हुन्छ ।

…………………………………………………………………….

जानी राख्नुहोस कस्तो अवस्थामा बीमा दाबी पाइदैन् ?

काठमाडौं। जीवन बीमा योजना खरिद गरेका बीमितहरु माझ बीमा कम्पनीबाट मृत्यु दाबी वा दुर्घटनाबाट अपाङ्गता भएको अवस्थामा पनि दाबी भुक्तानी नपाएको गुनासो सुनिन्छ। अनौपचारिक कुराकानीमा पनि बीमा गर्ने समयमा अनेक आश्वासन दिएर बीमा गर्ने तर दाबी दिने बेला अनेक अवरोध खडा गरेर आलटाल गर्छन् भन्ने गुनासो पनि सुनिन्छ। यद्यपी पूनर्बीमाको पर्याप्त व्यवस्था र बीमा कम्पनीहरुबीच प्रतिस्पर्धाको कारण अहिले जीवन बीमा कम्पनीहरुबीच एक करोड रुपैयाँ भन्दा ठूलो दाबी समेत सक्दो चाँडो भुक्तानी गर्ने प्रतिस्पर्धा शुरु भएको छ।

जीवन बीमा गराउँदा दाबी भुक्तानी पाउने पुरा हुनैपर्ने शर्त वा अवस्थाबारे बीमितले जानकारी लिनैपर्ने हुन्छ। र असल अभिकर्ताले पनि यस्तो जानकारी नलुकाई सबिस्तार वर्णन गरेर बीमितसँगको विश्वासको सम्बन्ध कायम राख्नुपर्छ। कुनै पनि बीमा गर्नुपूर्व वा गरिसकेपछि दाबी पाउने नपाउने अवस्थाबारे जान्नै पर्ने केही महत्वपूर्ण पक्षहरु:

प्रतिक्षा अवधि पुरा नभएमा:
जीवन बीमा योजना खरिद गरेलगत्तै सबै बीमा योजनामा जोखिम बहन शुरु हुँदैन। जोखिम बहन शुरु हुनको लागि केही दिन वा वर्षको प्रतिक्षा अवधि तोकिएको हुन्छ। यस्तो प्रतिक्षा अवधि पुरा नहुँदै बीमितको निधन भयो वा अस्वस्थता वा दुर्घटनामा परेर अपाङ्गता भने बीमा दाबी पाइदैन।

उदाहरणका लागि

बालबालिकाको जीवन बीमा योजनामा बीमा गरेको दुई वर्ष ननाघेको वा बीमित बालबालिकाको उमेर ६ वर्ष पुरा नहुँदासम्म बीमाको जोखिम रक्षावरण शुरु हुँदैन । अर्थात् बच्चा ६ वर्ष भन्दा कम उमेरको छ भने ६ वर्षको उमेर पुरा भएपछि वा ६ वर्षको उमेरमा बीमा गरिएको छ भने दुई वर्ष पछि मात्र जोखिम बहन शुरु हुन्छ।

तर प्रस्तावकको हकमा भने बीमालेख जारी गरेकै मितिबाट जोखिम बहन शुरु हुन्छ र बीमित बालबालिकाको उमेर १६ वर्ष नपुग्दासम्म जारी रहन्छ।

म्यादी जीवन बीमा वा स्वास्थ्य बीमा योजनाहरुमा पनि प्रतिक्षा अवधि तोकिएको हुनसक्छ।
सबै बीमा योजनामा प्रतिक्षा अवधि तोकिएको हुँदैन ।बीमा गर्नु अघि यसबारे प्रष्ट जानकारी लिनुपर्छ।

बीमालेख व्यतित भएमा :
कुनै पनि बीमालेख अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमाशुल्क नियमित रुपमा भुक्तानी नगरिएको ‌अवस्थामा पनि बीमालेख अन्तर्गतको दाबी भुक्तानी पाइदैन। बीमाशुल्क तिर्नुपर्ने मितिबाट ६ महिनाभित्र नतिरेको अवस्थामा बीमालेख स्वत: व्यतित हुन्छ, अर्थात् ‌निष्कृय हुन्छ। निष्कृय भएको अवस्थामा बीमितको मृत्यु भयो वा कुनै दुर्घटनामा परेर आंशिक वा पूर्णरुपमा अपाङ्ग भयो भने यस्तो अवस्थामा दिइने दाबी भुक्तानी पाइदैन। तिर्न बाँकी रहेको बीमाशुल्क र व्यतित अवधिको ब्याज जरिवाना तिरेर बीमालेख पूनर्जागरण गर्न अर्थात् सकृय बनाउन सकिन्छ।‌
बीमालेख अन्तर्गतको सम्पूर्ण सुविधा प्राप्त गर्नको लागि अनिवार्य रुपमा नियमित बीमाशुल्क तिरेर बीमालेख सकृय राख्नुपर्छ।

आत्महत्या गरेको अवस्थामा:
बीमा जारी गरेको दुई वर्ष पुरा नहुँदैआत्महत्या गरेको अवस्थामा बीमा दाबी पाइदैन।

मोटरसाइकल दौड, घोडदौड, नदी वा पोखरीमा गोताखोरी, आत्मघात, यूद्धमा सहभागी भएको अवस्थामा मृत्यु भएको अवस्थामा बीमा कम्पनीले दाबी भुक्तानी गर्दैन।

त्यसैगरी यात्रु बाहेक अन्य हैसियतमा हवाई उडान गर्दा ,उचाईबाट हामफाल्दा मृत्यु भएमा पनि बीमा कम्पनीले दाबी भुक्तानी दिदैन।

कालगतिले मृत्यु भएको अवस्थामा नियमित बीमांक रकम र त्यस अवधिसम्मको बीमांक रकम बीमकले दाबी भुक्तानी गर्छ। बीमालेख वा पुरक करारमा उल्लेखित शर्त अनुसारको अन्य सुविधा समेत उपलब्ध गराउँछ।

बीमालेखमा दुर्घटना मृत्यु लाभ समेत समावेश गरेको छ भने दुर्घटनामा परेर वा बाहिरी चोटपटकको कारण बीमितको मृत्यु भएको अवस्थामा बीमितले ईछ्याइएको व्यक्ति वा कानूनीरुपमा हकवालाले बीमांकको दोब्बर रकम भुक्तानी प्राप्त गर्छन्।

घातक रोग लागेको अवस्थामा:
बीमितले घातक रोगविरुद्ध उपचार खर्च पाउने गरी अतिरिक्त शुल्क तिरेर थप सुविधा लिएको छ भने मुटुरोग, क्यान्सर, कलेजोको संक्रमण, मृगौला रोगलगायत १८ किसिमका घातक रोगको उपचार खर्च उपलब्ध हुन्छ।
तर घातक रोगको उपचारको लागि बाहेक सामान्य औषधि उपचारको लागि उपचार खर्च उपलब्ध गराउने सुविधा नेपालको अधिकांश जीवन बीमा कम्पनीमा छैन।
सरकारको स्वास्थ्य बीमा कार्यक्रम वा निर्जीवन बीमा कम्पनीहरुबाट स्वास्थ्य उपचार खर्च पाउने सुविधा भएको स्वास्थ्य बीमा गर्न सकिन्छ।

कानून उलंघन गरेको अवस्थामा:
कानूनले गर्न नहुने भनेर उल्लेख गरेको गतिविधिमा संलग्न भएको अवस्थामा मृत्यु वा अपाङ्गता भएको अवस्थामा बीमा दाबी पाइदैन।

झूठो विवरण उपलब्ध गराएमा:
बीमा योजना खरिद गर्नुपूर्व बीमा कम्पनीमा बुझाएको व्यक्तिगत‌ विवरण, स्वास्थ्य अवस्था, पारिवारिक विवरण लगायतबारेमा‌ झूठो विवरण उपलब्ध गराएको अवस्थामा पनि बीमा दाबी पाइदैन ‌।

माथि‌ उल्लेखित पक्षहरुलाई ध्यान दिनुभयो र पालना गर्नुभयो भने तपाईको बीमा दाबी अस्वीकृत हुनेछैन । यहाँ उल्लेख गरिए अनुसारको शर्त पुरा हुँदा पनि बीमा दाबी पाउनु भएन भने बीमा समितिको कार्यालय ललितपुर, कुपण्डोलमा जीवन बीमा कम्पनी विरुद्ध ‌मुद्दा दर्ता गर्न सक्नुहुन्छ।

Leave a Reply