बिमितलाई मात्र होइन लगानीकर्तालाई पनि आकर्षक

 

बिमितलाई मात्र होइन लगानीकर्तालाई पनि आकर्षक छ: नेपाल लाईफ इन्स्योरेन्स

इन्स्योरेन्स खबर/काठमाडौँ: जीवन बीमा कम्पनी मध्य लगानीकर्ताको माझ एउटा राम्रो छाप छोड्न सक्ने जीवन बीमा कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC ) पर्दछ।
कम्पनीले विगत देखिनै पुँजी वृद्धिमा आक्रमक भएको पाइन्छ।  अरू जीवन बीमा कम्पनीहरू बीमा समितिले तोकेको २ अर्ब पुँजीको लक्ष्य हासिल गर्न सङ्घर्ष गरिरहेको बेला नेपाल लाईफको पुँजी चार अर्ब ३९ करोड रुपैयाँ छ।  अठारौँ वार्षिक साधारण सभाबाट कम्पनीले आफ्नो अधिकृत पुँजी ८ अर्ब कायम गरेको छ।  व्यवसाय विस्तार सँगै कम्पनी पुँजी वृद्धिमापनि आक्रामक भएको इतिहासले देखाउँछ।  विगत देखिनै निरन्तर बोनस शेयर दिदै आएको यस बीमा कम्पनीका लगानीकर्ताले हकप्रद शेयरको भार ग्रहण गर्नु परेन।हेरौ नेपाल लाईफको ५ वर्षको लाभास : ५ वर्षको अवधिमा कम्पनीले जम्मा २२२ प्रतिशत बोनस शेयर र ६७ दशमलव ६५ प्रतिशत नगद लाभास सहित जम्मा २८९ दशमलव ६५ प्रतिशत प्रतिफल लगानीकर्तालाई दिएको छ।  ५ वर्षे इतिहासमा नगद लाभासको भन्दा बोनस शेयरको हिस्सा धेरै हुनुले पनि नेपाली लगानीकर्ताले नेपाल लाइफलाई विगतमा मन पराउँदै आएको पाइन्छ।केही जीवन बीमा कम्पनीहरूले धेरै वर्ष सम्म लाभास प्रदान नगरेको पनि  इतिहास छ तर  नेपाल लाइफाले भने सबै आर्थिक वर्षको लाभास लगानीकर्तालाई प्रदान गरिसकेको अवस्था छ।

बीमा समितिले तोकेको चुक्ता पूँजी

बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीलाई सकस, कसको कति ?

May 27, 2018 Merolagani

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले चालु आर्थिक वर्षको अन्त सम्ममा जीवन बीमा कम्पनीको २ अर्व र निर्जीवन बीमा कम्पनीहरुको एक अर्ब चुक्ता पूजीँ पुर्याउन निर्देशन दिएको थियो । समितिले तोकेको समयाअवधि पुराहुन करिब ढेड महिना बाकीँ रहदा बीमा कम्पनीहरुले निर्देशन पुरा गर्न नसक्ने देखिएको छ ।

बीमा कम्पनीहरुले प्रस्तुत गरेको तेस्रो त्रैमास अर्थात चैतसम्मको तथ्याकं हेर्दा प्रायजसो कम्पनीहरुले बीमा समितिको निर्देशन अनुरुप चुक्ता पूजीँ पुर्याउन नसक्ने देखिएको छ ।

तेस्रो त्रैमाससम्ममा एक जीवन बीमा कम्पनी र  ३ निर्जीवन बीमा कम्पनीहरुले मात्रै बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याएका छन् । बीमा समितिले तोकेको  चुक्ता पुँजी पुर्याउने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स मात्र रहेको छ ।

समितिले तोकेको चुक्ता  पूँजी पुर्याउने निर्जीवन बीमा कम्पनीहरुमामा नेको, शिखर र हिमालयन जनरल इन्स्योरेन्स रहेका छन् । नेकोको एक अर्ब ६ करोड, शिखरको एक अर्ब ५ करोड र हिमालयन जनरलको एक अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

जीवन बीमा कम्पनी

जीवन बीमा कम्पनीहरुमा चुक्ता पूँजी पुर्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । बीमा समितिले निर्धारण गरको २ अर्ब चुक्तापूँजी  भन्दा २ अर्ब ४० करोडले बढि हो ।

बीमा समितिले निर्धरण गरेको २ अर्ब चुक्तापूँजी पुग्न प्राइम लाइफको २२ करोड नपुग्ने देखिन्छ । २ अर्ब चुक्ता पूँजी पुर्याउन सिटिजन लाइफले २५ करोड, नेशनल लाइफले ३४ करोड र ज्योति लाइफले ४६ करोड रुपैयाँ पूँजी बृद्धि गर्नुपर्ने देखिन्छ । युनियन र रिलायन्स लाइफको क्रमश ५० र ५३ करोड रुपैयाँ थप पूँजी बिस्तार गर्नुपर्ने छ ।

यसै वर्ष देखि मात्रै संचालनमा आएको सानिमा, सन नेपाल, प्रभु, रिलायबल आइएमई लाइफ इन्स्योरेन्सले ४० करोड रुपैयाँको पूँजी थप्नु पर्ने देखिन्छ । नयाँ संचालनमा आएका यस कम्पनीहरु लगायत युनियन, रिलायन्स र सिटिजनले सर्वसाधरणको लागि आइपीओ निश्कासन गर्ने प्रस्ताव समेत पारित गरिसकेका  छन्  । यद्यपी बीमा समितिले तोकेको सयमसीमा अवधिभित्र भने चुक्ता पूँजी पुर्याउन नसकिने देखिन्छ ।

एलआइसी नेपालको ६७ करोड, एशियन लाइफको ७४ करोड सुर्या लाइफको ९९ नपुग्ने रहेको छ । गुराँस लाइफ र राष्ट्रिय बीमा संस्थानको चुक्तापूँजी करोडमै सिमित रहेका छन् । ५९ करोड चुक्तापूँजी गुराँसको एक अर्ब ४१ करोड रुपैयाँ नपुग्ने देखिन्छ । यस्तै २ अर्ब चुक्ता पूँजी निमार्णको लागि राष्ट्रिय बीमा समितिको एक अर्ब ८२ लाख रुपैयाँ नपुग्ने देखिन्छ जसको चुक्तापूँजी १८ करोड रुपैयाँ मात्रै छ ।

निर्जीवन बीमा कम्पनी

समितिले तोकेको चुक्ता पूँजी पुर्याउने निर्जीवन बीमा कम्पनीहरुमामा नेको, शिखर, र हिमालयन जनरल इन्स्योरेन्स रहेका छन् । नेकोको एक अर्ब १६ करोड, शिखरको एक अर्ब ५ करोड र हिमालयन जनरलको एक अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी  छ ।

यस्तै ८८ करोड चुक्तापूँजी रहेको लुम्बिनी जनरलको ११ करोड रुपैयाँ नपुग्ने देखिन्छ । शिद्धार्थ इन्स्योरेन्सको १३ करोड, प्रभु इन्स्योरेन्सको ३१ करोड, प्रुडेन्सियल इन्स्योरेन्स ३५ करोड, एनएलजीको ३५ करोड, नेपाल इन्स्योरेन्सको ३७ करोड, प्रिमियर इन्स्योरेन्स ४१ करोड, आएमई जनरलको ४६ करोड, सगरमाथा इन्स्योरेन्सको ४६ करोड रुपैयाँ नपुग्ने देखिन्छ ।

युनाइटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र एभरेष्ट कम्पनीको चुक्ता पूँजी समितिले तोकेको भन्दा ५० प्रतिशतले कम छ । एक अर्ब चुक्तापूँजी निमार्णको लागि युनाइटेडको ६९ करोड, राष्ट्रिय बीमा कम्पनीको ७३ करोड र एभरेष्टको ८५ करोड रुपैयाँ आवश्यक देखिन्छ ।

बिमा: बचत र सुरक्षा पनि

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय हेरिटेज प्लाजा कमलादीमा ३ माघमा निकै भीड देखिन्थ्यो । त्यहाँ एकातर्फ अधिकर्ता (बिमाकर्ता खोज्ने र विश्वस्त बनाउने) तालिम चलिरहेको थियो । अर्कातर्फ बिमा रकम तिर्नेहरूको लाम थियो । अर्को कोठामा नयाँ बिमाकर्ताहरू कसरी थप्ने योजना बनिरहेको थियो । एलआईसी नेपालको शाखा कार्यालय मीनभवनको दृश्य पनि यस्तै थियो । सबैजसो जीवन बिमा कम्पनीमा पछिल्ला दिनमा यस्तै दृश्य देख्न पाइन्छ । अर्थात् बैंकमा जत्तिकै भीड लाग्न थालेको छ, जीवन बिमा कम्पनीहरूमा पनि । त्यसकै परिणाम जीवन बिमा कम्पनीले सवा खर्बको लगानी गरिसकेका छन् ।

प्राकृतिक, दैवी तथा मानवीय कारणले आकस्मिक रूपमा उत्पन्न हुने जोखिम, हानि–नोक्सानी तथा घटनाविरुद्ध आर्थिक संरक्षण लिने/दिने उद्देश्यले बिमा गरिन्छ । मानवीय जीवनसँग सम्बन्धित आर्थिक क्षतिको जोखिमविरुद्ध गरिने बिमा जीवन बिमा हो । यस्ता बिमा कम्पनीहरूलाई नेपाल सरकार मातहतको बिमा समितिले निगरानी गर्छ । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी अधिकृत शिवनाथ पाण्डेका भनाइमा बिमा सम्भावनाको ढोका हो । त्यसैले यसको पहिलो आधार विश्वास हो । बैंकहरूलाई राज्यले जुन मात्रामा गम्भीर रूपमा लिएको छ, बिमा कम्पनीहरूलाई त्यही रूपमा लिनुपर्ने सूर्य लाइफका कार्यकारी अधिकृत पाण्डेको सुझाव छ । भन्छन्, “बिमा भनेको बैंकजस्तै बचत पनि हो । सुरक्षा पनि हो । यसलाई सरकारले अझ राम्ररी नियमन गर्दै सुरक्षित बनाउनु पर्छ ।” बिमालाई अनिवार्य गरिने हो भने राज्यलाई पेन्सनको भार नपर्ने पाण्डे बताउँछन् । जीवन बिमा भनेको जीवन हुँदै पाउने बिमा पनि हो । तर, मृत्युपछि मात्र बिमाको रकम पाइन्छ भन्ने गलत बुझाइ रहेकाले बिमा व्यवसाय ठूलो रूपमा फस्टाउन सकेको छैन ।

बिमा तीन प्रकारका छन्– जीवन बिमा, निर्जीवन बिमा र पुनर्बिमा । जीवन बिमाले मानिसको व्यक्तिगत जीवनसँग मात्र सरोकार राख्छ । यो बिमा जीवित व्यक्तिका हकमा मात्र कार्यान्वयन हुन्छ । निर्जीवन बिमा घर, गाडी, उद्योगधन्दा, कृषि, पशु आदिका लागि गरिन्छ । पुनर्बिमा चाहिँ जोखिमको भार कम होस् भनेर बिमा कम्पनीहरूले नै आफ्नो बिमा गराउँछन् । रिलायबल लाइफ इन्स्योरेन्सका सहायक कार्यकारी अधिकृत अगम मुखियाका भनाइमा जीवन बिमा पनि तीन प्रकारले गरिन्छ । एउटा सावधिक जीवन बिमा । अर्को आजीवन जीवन बिमा र तेस्रो म्यादी जीवन बिमा हो ।

सावधिक जीवन बिमा गर्दा कति वर्षका लागि गरेको हो, त्यस अवधिमा बोनससहित रकम फिर्ता हुन्छ । यसबाहेक मृत्यु, दुर्घटना, अंगभंग भए पनि यसको सुविधा पाइन्छ । आजीवन जीवन बिमाचाहिँ स्वाभाविक होस् वा आकस्मिक, मृत्यु भएपछि बोनससहित परिवारले पाउँछन् । म्यादी बिमा गरिएको छ भने दुर्घटनामा परी मृत्यु भए रकम पाइन्छ । नत्र त्यो रकम फिर्ता हुन्न । धेरैजसो जीवन बिमा कम्पनीहरूले पछिल्लो समयमा सावधिक तथा आजीवन भनेर बिमा गर्न थालेका छन् ।

एलआईसी नेपालका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तियारका अनुसार बिमा गर्नुको खास कारण तीनवटा छन् । पहिलो मृत्युबाट उत्पन्न हुने आयस्रोतको क्षतिमा परिवारलाई आर्थिक सुरक्षा दिनु, दोस्रो बिमा लगानीको उत्कृष्ट तरिका भएकाले यसका कारण राम्रो बोनस रकम, बिमालेखमा कर्जा सुविधा र परिपक्वता लाभ पाइन्छ । तेस्रो, बचत गर्ने बानी भई पुँजी निर्माण हुन्छ, जसबाट व्यक्तिले भविष्यमा आर्थिक गर्जो टार्न र व्यवसाय सुरु गर्न सक्छ ।

वैशाख ०७२ मा आएको विनाशकारी भूकम्पमा परी नौ हजार नागरिकले ज्यान गुमाए । जसमा जीवन बिमा गर्नेको संख्या करिब तीन सय मात्र रहेछ । यही घटना काफी छ बिमाप्रति सर्वसाधारणको सचेतना कति कमजोर छ भन्ने बुझ्न । बिमा कम्पनीका सबैजसो प्रमुख कार्यकारी अधिकृतहरू जीवन बिमाप्रतिको सचेतना निकै नै कमजोर रहेको स्वीकार गर्छन् । “दुर्भाग्य नै भनौँ, नेपालमा बिमा सचेतना त्यति राम्रो छैन,” एलआईसीका कायमुकायम कार्यकारी अधिकृत दस्तियार भन्छन्, “हामीहरूले आमजनमानसमा जसरी गाँस, बास र कपास आधारभूत आवश्यकता हुन्, त्यसरी नै जीवन बिमा पनि अपरिहार्य कुरा हो भनेर बुझाउन सकेका छैनौँ । तथापि, दिनानुदिन परिस्थिति सुधार हँुदै गएको छ ।”

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत विवेक झाको स्वीकारोक्ति पनि दस्तियारसँग मिल्दोजुल्दो छ । झाका भनाइमा धेरैजसो बिमा आफन्त, अधिकर्ता आदिको आग्रहमा हुने गरेको छ । बिमा गर्नु आर्थिक जोखिम टार्नु हो भन्ने बुझाइका अपवाद घटनाबाहेक कोही पनि आफैँ उत्सुक भएर बिमा गर्न आउँदैनन् । यस्तो हुनुमा बिमा कम्पनीहरूको समेत कमजोरी रहेको झाको ठम्याइ छ । भन्छन्, “बिमा कम्पनीहरूले पनि यसको महत्त्व बुझाउन सकेका छैनन् । त्यसमाथि बिमा कम्पनीले ठग्छन् । दाबी भुक्तानी माग्दा दु:ख दिन्छन् । दिँदैनन् भन्ने भ्रम परेको छ । त्यसैले पनि यसप्रतिको सचेतना कम भएको हो ।”

पछिल्ला दिनमा भने बिमाप्रतिको सचेतना बढ्दो छ । उदाहरणका लागि नेपाल लाइफलाई नै लिन सकिन्छ । यो बिमा कम्पनीले यस वर्ष मात्र ५० हजार व्यक्तिको नयाँ बिमा गराएको छ भने वैदेशिक रोजगारमा जाने झन्डै ५५ हजारले यस कम्पनीमा बिमा गरेका छन् । हालसम्म १५ लाख नागरिकले नेपाल लाइफमा बिमा गरिसकेको झाको दाबी छ । नयाँ बिमा र वैदेशिक रोजगारसमेत गरी नेपाल लाइफले यस वर्ष मात्र सवा दुई अर्ब रकम असुल गरेको छ । कुल गरी नेपाल लाइफले मात्र ५३ अर्ब रुपियाँको बिमा लगानी गरेको छ । आफूहरूले ३ लाख २० हजार व्यक्तिको बिमा गरिसकेको सूर्य लाइफका कार्यकारी अधिकृत पाण्डे बताउँछन् । गत असोजबाट मात्र सञ्चालनमा आएको रिलायबल लाइफ इन्स्योरेन्सले समेत १९ हजार ६ सय जनाको बिमा गराइसकेको छ । एलआईसी नेपालले ८ लाख ५० हजार व्यक्तिको बिमा गरेको कायममुकायम प्रमुख कार्यकारी अधिकृत दस्तियारको भनाइ छ । यो सचेतना बढ्दै गएको संकेत हो । रिलायबल लाइफका सहायक कार्यकारी अधिकृत अगम मुखिया भन्छन्, “पहिलेको तुलनामा बिमाप्रतिको सचेतना एकदमै बढ्दै गएको छ ।” बिमा गर्नेमध्ये वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो छ । सरकारले वैदेशिक रोजगारीमा जाने शतप्रतिशतलाई बिमा अनिवार्य गराएको छ । उनीहरूले वैदेशिक रोजगार अवधिभर मात्र बिमा गर्छन् । यस हिसाबले हेर्दा बिमा गर्नेको संख्या ठूलो देखिए पनि मुलुकभित्रै बस्ने थोरैले मात्र गराएको बुझ्न कठिन छैन ।

सर्वसाधारण जीवन बिमा गराउन उत्सुक नहुनुको पछाडि बिमा दाबी झन्झटिलो र सहज ढंगले भुक्तानी पाइँदैन भन्ने बुझाइ पनि प्रमुख कारण हो । जीवन बिमाभन्दा निर्जीवन बिमाका कारण यसप्रति नकारात्मक धारणा रहेको जानकारहरू बताउँछन् । हुन पनि अवस्था कस्तो छ भने घर, गाडीजस्ता निर्जीवन बिमामा ग्राहकलाई बढी नै सास्ती दिने गरेको देखिन्छ । जसका कारण जीवन बिमाप्रतिसमेत नकारात्मक प्रचार भएको हो । यद्यपि, जीवन बिमामा पनि समस्या नै नभएको चाहिँ होइन । खासमा जीवन बिमा निरोगी नागरिकले गर्ने हो । तर, प्राणघातक रोगको पहिचान भइसकेपछि बिमा गराउने, झूट्टा विवरण पेस गरेर सुविधा लिन खोज्नेजस्ता घटनाका कारण विवाद पर्ने, भुक्तानी दिन समस्या हुने बिमा कम्पनीहरूको दाबी छ । व्यवसाय आफैँ चल्ने नभई व्यक्तिले चलाउने भएकाले एकाध व्यक्तिको नियत गलत हुनेबित्तिकै समग्र क्षेत्र बदनाम भएको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत झा बताउँछन् । “पीडितले गरेको दाबी भुक्तानी नगर्ने हो भने बिमा कम्पनी खोल्नुको अर्थ छैन,” उनी भन्छन् ।

दाबी भुक्तानी छिटो दिए बिमा गर्नेहरूको संख्या स्वत: बढ्ने झाको अनुभव छ । एलआईसीका कायममुकायम सीईओ दस्तियारका अनुसार उनको कम्पनीले बिमा दाबी गर्न आएकामध्ये ९९.७५ प्रतिशत घटनामा रकम रोकेको छैन । गम्भीर घटनाहरूमा आफूहरूले ‘फिल्ड’मै पुगेर भुक्तानी दिइरहेको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत झा बताउँछन् । थप्छन्, “झूट्टो विवरण पेस गर्ने अपवादबाहेक शतप्रतिशतले बिमा भुक्तानी पाएका छन् । अपवाद घटनालाई लिएर बिमाप्रति नकारात्मक धारणा बनाउनु भएन ।” त्यसो त जीवन बिमा कम्पनीका समस्याहरू पनि उत्तिकै छन् । बिमा कम्पनीहरूले विमितप्रति लामो अवधिको दायित्व बहन गर्नुपर्छ । तर, लगानीको क्षेत्र तथा अवसर संकुचित तथा अल्पकालीन छन् । त्यसैले राज्यले प्रभावकारी ढंगले यस क्षेत्रका समस्याहरू पहिचान गरी बिमा कम्पनीहरूलाई थप जिम्मेवार र सुरक्षित बनाउने हो भने जीवन बिमा गर्नेहरूको संख्या अझ बढ्ने देखिन्छ ।

प्रकाशित: माघ ९, २०७४