Uncategorized

जीवन बीमा गर्नै पर्ने १० महत्वपुर्ण कारण

बीमा बचत र लगानी दुबै हो, यस्ता छन् जीवन बीमा गर्नैपर्ने १० महत्वपुर्ण कारण

काठमाडौं । बीमा बचत र लगानी दुबै हो बीमा गर्दा एकतिर बचत हुन्छ भने अर्कोतिर प्रतिफल पाइने भएकाले लगानीको रुपमा लिइन्छ । पछिल्लो समय बीमा मानव रक्षावरणको एक गतिलो माध्यम बन्न पुगेको छ । बीमाले मानिसको जीवनका साथै भौतिक सम्पत्तिको समेत रक्षा गर्ने गर्दछ ।

बीमा भनेको कुनै पनि व्यक्तिलाई आर्थिक नोक्सान हुँदा वा जोखिम हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित र बीमकबीच करार सम्झौता हुन्छ । यस्तो अवस्थाको जोखिमका लागि यति रकमको जोखिम बहन गर्ने गराउने इत्यादि । हामी सबै मानिसहरु भोलिका दिनमा आउने जोखिमका विषयमा विज्ञ हुदैनौ । तर अचानक भोलि जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुनसक्छ । त्यही हुन सक्ने जोखिमको पुर्ताल गर्न गरिने एक प्रकारको सम्झौता नै बीमा हो ।

मानिसको जीवन वा धन सम्पतिकोको कुनै टुंगो हुँदैन । आफ्नो र परिवारको भविष्य सुरक्षित गर्ने माध्यमका रुपमा पनि बीमालाई महत्वपूर्ण मानिन्छ । किनभने सामान्य हिसाबले भन्दा जीवन बीमाको मुख्य आधार भनेकै आर्थिक जोखिमको हस्तान्तरण हो । हरेक व्यक्तिको जीवनमा एक प्रकारको आर्थिक जोखिम हुन्छ । कुनै पनि व्यक्तिले आफ्नो जीवनको योजना बनाउँदा परिवारको भविष्यका बारेमा पनि सोच्नुपर्छ । बीमाले मानिसको जीवनमा आइपर्ने हरेक किसिमका जोखिमलाई केही हदसम्म कम गर्ने गर्दछ । त्यसकारण बीमा सबै मानिसको लागि अपरिहार्य छ ।

बीमाको निश्चित अविधि सकिएपछि नीजकोे बीमालेखमा तोकिएको रकम र उक्त अविधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस थप गरी बीमा कम्पनीले बीमित भए बीमित वा बीमित नभएको खण्डमा बीमितले ईच्छाएको व्यक्तिलाई प्रदान गर्ने हुँदा जीवन बीमा मृत्यु पश्चात आफ्ना सन्तान तथा उत्तराधिकारीको हितका लागि समेत महत्वपूर्ण छ ।

जीवन बीमा गर्नैपर्ने महत्वपुर्ण कारण

बचत र लगानी
जीवन बीमा जोखिम हस्तान्तरणको एक साधन मात्र नभई बचत र लगानी पनि हो । जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन पनि हो । यद्यपि यसले जोखिम बहनभन्दा पहिले बचत गराएको हुन्छ । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन, ती व्यक्तिहरुले हरेक वर्ष प्रियिम बापत निश्चित रकम बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै घटना घट्यो भने बीमा कम्पनीहरुले क्षतिपुर्ति बहन गर्दछ । यदि बीमा गरेका व्यक्तिहरुमा तोकिएको समय अवधिसम्म कुनै घटना भएन भने बीमा कम्पनीहरुले प्रतिफलसहित उक्त रकम फिर्ता गर्दछन् । त्यसकारण बीमा एक किसिमको बचत पनि हो ।

बोनश
जीवन बीमा गर्दा धेरै फाइदा हुन्छ । इन्स्योरेन्स गराए वापत बोनस प्राप्त हुन्छ । मानिसहरुले जीवन बीमा गरेका हुन्छन् । बीमा समयअवधी सकिसकेपछि बीमीतमा कुनै घटना घटेको छैन भने बीमा गरेको कुल रकममा बोनस थप गरी रकम दिने गर्दछ । त्यसकारण बीमा गर्नु फाइदा छ ।

आर्थिक जोखिमको हस्तान्तरण
हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ, त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । ऊ नहुँदा यो सबै कुरामा परिवारमा आर्थिक संकटको सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बीमा गर्नुपर्ने हुन्छ ।

पारिवारीक जिम्मेवारीको जोखिम बहन
मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।

भविष्यको योजना निर्माण गर्न
हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा धेरै माथि हुन्छ । भविष्यका योजनाहरु हामीसँग धेरै हुन्छन् । सोही अनुसार हामी दैनिकि चलाईरहेका हुन्छौँ । काम गरिरहेका हुन्छौँ । कुनै पनि व्यक्तिले देखेका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।

मुलुकको विकासमा टेवा
हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि केही योगदान होस् भन्ने चाहना राख्छ । पूर्वाधार निर्माणमा सबैभन्दा बढी पूँजी जीवन बीमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बीमा उपयुक्त माध्यम हो ।

सन्तानको शिक्षा
हरेक अभिभावकले आफ्ना सन्तान शिक्षित बनुन् भन्ने चाहाना राखेका हुन्छन् । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिँन्छ भन्ने यसैले देखाउँछ ।

परनिर्भरता उन्मूलन
जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनुपर्दैन । बीमा गरेपछि बीमितको मृत्युपछि उसको परिवारलाई बीमाको एकमुष्ट रकम, बोनश आउने गर्दछ ।
ऋणको भारबाट छुटकारा
कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । व्यक्तिले बैंक, वित्तीय संस्था वा व्यक्तिबाट ऋण लिने गर्दछन् । लिएको ऋण चुक्ता नहुँदै भएमा उसको परिवारका सदस्यलाई समस्या उत्पन्न हुन पुग्छ । यदि उसले आफुले लिएको ऋणको बीमा गर्यो भने कम्पनीले ऋणको जोखिम बहन गर्छ ।

जीवन सुरक्षा
इन्स्योरेन्सबाट बोनसभन्दा पनि महत्वपुर्ण पक्ष भनेको जीवनको सुरक्षा हो । जीबन बीमाले मानिसको मृत्युपछि मात्र नभएर कुनै घातक रोक लाग्यो भने पनि त्यसको उपचारका लागि पैसा दिने गर्दछ । मानिसको जीवनमा अनेक प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिमध्ये सबैभन्दा ठुलो विपत्ति मृत्यु हो । रोगव्याधि, दुर्घटना वा अन्य कुनै कारणले मानिसहरुको अकाल मृत्यु हुन सक्छ । यस्तो अवस्थामा मृतकको परिवारलाई आर्थिक टेवा दिने माध्यम भनेको बीमा नै हो ।

 

 

…………………………………………………………………………………………………………………………………………………………………………………………

आम्दानीको आधारमा कुन बीमा प्रोडक्ट कसरी छनोट गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुरा

काठमाडौं । हामी नेपालीहरुको लागि विषेश चाड दशैं हो । दशैंमा सबै मानिसहरुले नयाँ कपडा,खानेकुरा, नुनदेखि ससनसम्म किन्ने गरेको पाईन्छ । यस समयमा मानिसहरुले विलासी बस्तुहरुमा पैसा खर्चिने गर्दछन् । तर त्यस रकमलाई चाहिदो मात्रमा प्रयोग गरेरे जोगाउन सकिन्छ । यही रकमलाई बचतमा लगानी गरी बीमा योजना खरिद गर्न सकिन्छ ।

तर जीवन बीमा गर्ने भनेर मात्रै हुँदैन । आफ्नो आय क्षमता, दैनिक रुपमा आईपर्ने खर्चको संयोजन मिलाएर बीमा गरेमा मात्रै भविष्यमा नियमित बीमा शुल्क भुक्तानी गर्न सकिने गरी जीवन बीमा गर्नुपर्दछ । दशैंमा हुने अतिरिक्त आयलाई बीमाको रुपमा उपयोग गर्न सकिने हुँदा यसबारे समेत हिसाब किताब गरेर बीमा गर्नु भोलिको लागि उपयुक्त हुन्छ ।

बीमा बचत पछिको रकम जगेरर्ना गरेपश्चात भविष्यको जोखिम न्यूनिकरणको एक पाटो हो भने नियमित बीमा शुल्क भुक्तानी गर्न सक्ने हुनु अर्को पाटो हो । व्यक्तिको आम्दानी कति छ, उसको खर्च त्यसपछि बचतको बाटो खुल्ला हुने हो । यदि खर्च र बचत गर्न नै धौ–धौ छ भने बीमालाई उसले अवलम्बन गर्न सक्दैन त्यसैले बीमा गर्दा बीमितको आयस्रोतलाई समेत ध्यान दिनुपर्दछ ।

कसरी छनोट गर्ने जीवन बीमा प्रडक्ट ?
बीमा पोलिसी खरिद गर्नको लागि बीमा कम्पनीहरुको बीमा प्रोडक्टहरुको बारेमा ज्ञान हुनुपर्दछ । तर बीमापोलिसीबच्चा जन्मेकै दिन समेत पनि गर्न सकिन्छ । घर परिवारमध्ये एक जना संरक्षक रहेर बच्चाको बीमा गर्न सकिन्छ। ६५ वर्ष भन्दा माथिका बृद्धको भने जीवन बीमा गर्ने प्रावधान रहेको छैन ।

प्रत्येक जीवन बीमा कम्पनीहरुले आफनो बीमा पोलिसीको बारेमा विस्तृत जानकारी आफनो वेवसाईटमा राखेका हुन्छन् । यसको अलवा अभिकर्तामार्फत वा सिधैं आफै बीमा कम्पनीको कार्यालयमा गएर समेत जीवन बीमा पोलिसीको बारेमा जानकारी लिन सकिन्छ ।

कम्पनीहरुले उमेर हद पनि तोकेको हुन्छ, प्रत्येक बीमालेखमा र रक्षारण हुने र नहुने कुरा पनि स्पष्ट रुपमा राखिदिएको हुन्छ । त्यसैले, आफूले छनोट गर्न लागेको बीमा पोलिसीको बारेमा गहन अध्ययन गर्नु जरुरी छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । जीवन बीमामा आजिवन बीमा, सावधिक बीमा, म्यादी बीमा, एन्युटी बीमा रहेको हुन्छ ।

१९ वटा कम्पनीहरुले जीवन बीमा सेवा प्रदान गर्दै आएका छन् । सरकारी स्वामित्वको एक राष्ट्रिय बीमा संस्थान र निजी क्षेत्रका १८ कम्पनीले बीमा सेवा आफ्ना बीमितहरुको सेवालाई मध्यनजर गर्दै सेवा प्रदान गर्दै आएका छन् ।

आर्थिक क्षमताको बारेमा बुझ्नु जरुरी
बीमा भन्ने वित्तिकै आर्थिक सुरक्षणको एक मात्तयम भनने बुझिन्छ । बमिा गर्दा आफ्नो आय स्रोत,महिनामा कति आम्दानी हुने र आफ्ले कति किस्ता रकम तिर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्नुपर्छ । कम रकमको बीमा गरियो भने बीमा गर्नुको उद्देश्य पूरा हँुदैन । बढी रकमको बीमा गरियो भने आर्थिक क्षमताले नभ्याएर बीमाको किस्ता तिर्न हम्मे हम्मे पर्छ । तसर्थ बीमा छनोट गर्नुभन्दा पहिले बीमा लिन चाहने व्यक्तिले आफ्नो आर्थिक क्षमताको विश्लेषण अनिवार्य गर्नुपर्छ ।

बीमा पोलिसीको छनोट
नेपाली बीमा बजारमा थरीथरीका बीमा पोलिसीहरु रहेका छन् । नगद उपलब्धताको आधारमा बीमा पोलिसी छनोट गर्न सकिन्छ । यदि कसैको आम्दानी निश्चित छैन भने अग्रीम भुक्तानी बीमालेख लिनु उपयुक्त हुन्छ । अग्रिम भुक्तानी बीमालेख भनेको बीमा परिपक्व हुनुभन्दा पहिले बीमा रकमको केही अंश बीमा कम्पनीले बीमितलाई फिर्ता गर्ने बीमा योजना हो ।

बजारमा बीमा रकमको केही अंश आवधिक रूपमा फिर्ता गर्नेदेखि वार्षिक फिर्ता गर्ने बीमालेखहरू छन् । २५ वर्षका व्यक्तिका लागि वार्षिक रूपमा रकम फिर्ता गर्ने २० वर्षे सात लाख बीमा अग्रिम भुक्तानी बीमालेखमा बीमा अवधि समाप्त नहुँदै बीमितको मृत्यु भएमा अग्रिम रूपमा भुक्तानी भएको रकम कट्टा नगरी पूरै बीमा रकम तथा आर्जित बोनस रकम भुक्तानी गरिन्छ ।

यसरी कम लगानीमैं परिवारको आर्थिक स्थितिको बचाउ तथा उचित प्रतिफल प्राप्त गर्न सकिन्छ । कुनै व्यक्तिको आयस्रोत तथा बचत निश्चित छ, बीमाशुल्क भुक्तानी गर्न असहज हुँदैन भने सावधिक बीमा गर्न सकिन्छ । २५ वर्षको व्यक्तिले ३० वर्ष सम्म उमेर समूहको मानिस यस बीमा योजनामा सरिक हुन पाउछन् ।

त्यसैगरी, कसैसँग लगानीको राम्रो अवसर छ भने त्यस्ता व्यक्तिहरूको लागि म्यादी बीमा उपयुक्त हुन्छ । म्यादी बीमा भनेको बीमा अवधिमा बीमितको मृत्यु भएमा मात्र बीमा रकम भुक्तानी गर्ने बीमा हो । त्यसैले यो निकै सस्तो हुन्छ । २५ वर्षको व्यक्तिले २० वर्ष उमेर समूहसम्मको मानिसहरु यस बीमा योजनामा सहभागी हुन पाउछन् । त्यस्ता व्यक्तिहरूले बीमाशुल्क तिरेर बाँकी रहेको बचत रकमलाई अन्य क्षेत्रमा लगानी गर्न सक्छन् ।

बजारमा यस्ता बीमालेखहरू छन् जसले बीमा अवधि समाप्तिमा बीमा रकम तथा बोनस रकम भुक्तानी गर्छ भने बीमित जीवित रहेको अवस्थामा बीमितको उमेर ७० वर्ष, ७५ वर्ष, ८० वर्ष, ८५ वर्ष तथा ९० वर्ष पुग्दा बीमा रकमको २० प्रतिशतका दरले रकम भुक्तानी गर्दै जान्छ ।कसैसँग एकमुष्ट ठूलो रकम छ र वार्षिक रूपमा बीमा नवीकरण गर्ने झण्झट लिन चाहँदैन भने त्यस्तो व्यक्तिका लागि एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरू उपयुक्त हुन्छ ।यसरी कुनै पनि बीमा लिन चाहने व्यक्तिले आफ्नो परिवारिक उत्तरदायित्व आधारमा आर्थिक क्षमताको

बोनस दरको आधारमा
जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई दिने प्रतिफल बोनसदर हो । कम्पनीहरूले वार्षिक प्रतिहजारका दरले बोनस वितरण गर्दछन् ।कम्पनीहरूले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् । कम्पनीले आम्दानी गरेको बार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बिमीतहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गरिन्छ । यस्तो बोनसदर कम्पनीहरूले आर्थिक बर्ष सकिएपछि वार्षिक रुपमा घोषणा गर्दछन् । त्यसैले जीवन बीमामा बोनस दर निकै महत्वपूर्ण मानिन्छ ।

कम्पनीको वित्तीय अवस्था र व्यवस्थापकीय अवस्थाका आधारमा बोनसदर निर्धारण हुन्छ । बोनसदरका आधारमा नै बीमितले आफनो बीमा योजना समाप्त भएपछि पाउने रकम निर्धारण हुन्छ ।

निम्न आय भएकाहरुको लागि लघुबीमा उपयुक्त

ग्रामिण क्षेत्रमा बसोबास गर्ने बीमाको दायराले समावेश गर्न नसकेका, न्यून आय भई जीविकोपार्जन गर्ने समुदायको दैनिक जीवनमा आईपर्न सक्ने सम्भावित जोखिम न्यूनिकरणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालित कार्यक्रम हो लघुबीमा हो ।नेपाल सरकारले बिशेष गरी ग्रामीण क्षेत्रका जनताले पनि बीमाको सुविधा पाउन् भन्ने हेतुले यस कार्यक्रम संचालनमा ल्याएको हो ।

……………………………………………………………………………

बीमा सम्बन्धी जान्नै पर्ने ७ कुराहरु

सामान्य झुपडीमा बस्ने गरिवदेखि खर्बौ रुपैयाँको कारोबार गर्ने व्यक्तिको जीवन एउटै हो । कसैको पनि जीवनमा निश्चितता छैन । एउटा गरिवको परिवारमा क्षति हुँदा जति त्यो परिवारको आत्मबल घट्छ त्यति नै सम्पन्न परिवारमा क्षति हुँदा आत्मबल गिर्छ । त्यहि भएर बीमा सबैको लागि हो । भलै गरिव परिवारको झुपडी बाढीले बगाउदा २० हजार बगाउला र धनिको घर बगाउदा दुई अर्ब ।

यी दुबै पक्षका लागि झुपडी र घरको महत्व एउटै हो । त्यो झुपडीमा बस्ने मानिसले बीमा गर्यो भने २० हजार पाउदा पनि उ पहिलाकै अवस्थामा पुग्न सक्छ । र दुई अर्बको घरको बीमा गर्ने पनि पहिलाकै अवस्थामा पुग्न सक्छ । तसर्थ हामी जुन जस्तो अवस्थामा छौ त्यहि अवस्थालाई सुरक्षित बनाइराख्ने माध्यम भनेको बीमा हो ।

१. बीमाको सामान्य जानकारी
बीमा भनेको मानव जीवनमा आइपर्ने विभिन्न किसिमका जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्ने उपकरणहरू मध्येको एक महत्वपूर्ण उपकरण हो । अर्थात्अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो । बीमा गर्दा बीमा गरिएको बस्तुमा हुने जोखिमको क्षतिपूर्तिको भाग बीमितवाट बीमा कम्पनीमा सार्ने काम गरिन्छ । बीमा गरिए पश्चात् बीमा गरिएको वस्तुमा तोकिएको जोखिमवाट हानी–नोक्सानी भएमा आफूले स्वीकार गरे अनुसारको मूल्याङ्कनबाट तोकिएको हदबाट नबढ्ने गरी बीमा कम्पनीले क्षती वापतको क्षतिपूर्ति रकम बीमितलाई व्यहोर्ने गर्दछन्।

२. बीमाका प्रकार
सामान्यतया बीमा तीन प्रकारका हुन्छन्, जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा ।
क. जीवन बीमा
जीवन बीमा भनेको मानिसको जीवनसँग सम्बन्धित हुन्छ । जीवन बीमा गरेपछि बीमाको अवधि समाप्त भएपछि बोनस सहित एकमुष्ठ रकम पाइन्छ । बीमा अवधिमा कथम्कदाचित् बीमितिको मृत्यु भएमा निजको अधिकारप्राप्त हकवालाले बीमा रकम प्राप्त गर्दछन् । जीवन बीमा अन्तर्गत आजीवन बीमा, सावधिक जीवन बीमा र म्यादी जीवन बीमा पर्दछन्।
ख. निर्जीवन बीमा
निर्जीवन बीमा भनेको सम्पत्तिमा हुने विभिन्न प्रकारको भवितव्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षावरण गर्ने माध्यम हो । निर्जीवन बीमा अन्तर्गत अग्नी बीमा, मोटर बीमा, इञ्जिनीयरिङ्ग बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा र विविध बीमा पर्दछन् ।
ग. पुनर्बीमा
बीमा कम्पनीहरूले पुनः अर्को कम्पनीसँग गर्ने बीमालाई पुनर्बीमा भनिन्छ ।
३. बीमाको महत्व र आवश्यकता
बीमाले निश्चित शर्तका आधारमा बीमकबाट पूरै वा आङ्शिक जोखिम बहन गरी भविष्यमा
हुनसक्ने नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ ।
-बीमाले जोखिलाई सुरक्षावरणको रूपमा लिने गर्दछ । अर्थात् जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने सरल माध्यम भनेको बीमा हो ।
-भविष्यमा हुनसक्ने विपत्ति र दुर्घटनाबाट जीवन तथा सम्पत्तिमा हुने क्षतिबाट सिर्जना हुने आर्थिक हानी नोक्सानीलाई बीमाले न्यूनीकरण गर्दछ ।
– बीमा व्यक्ति तथा परिवारको नाफादायक लगानी पनि हो । थोरै थोरै रकम बचत गरेर गरिएको बीमाको अवधि समाप्त भएपछि प्राप्त हुने एकमुष्ठ रकमबाट आर्थिक अभावलाई पूर्ति गर्न सकिन्छ ।
– लगानीकर्ता, उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्न, व्यवसायमा हुनसक्ने जोखिम विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्न र वाणिज्य व्यापारको प्रवद्र्धन गर्न बीमा आश्यक हुन्छ ।
– देशमा पूँजी निर्माण गर्न, रोजगारीका अवसर सिर्जना गर्न र विपन्नता कारण हुने सामाजिक विकृतिमा कमी ल्याउन समेत बीमाको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

४. बीमाबाट हुने आर्थिक रक्षावरण
– बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान
गर्दछ ।
– जीवन बीमा गर्दा बीमालेखको अवधि समाप्त भएपछि बीमितिले बोनस सहित एकमुष्ठ रकम प्राप्त गर्दछ । यदि बीमालेखको अवधि समाप्त हुनुभन्दा अगाडि नै बीमितिको मृत्यु भएमा निजको कानूनी हकदारलाई बीमाको रकम प्राप्त हुन्छ ।
– निर्जीवन बीमाले मानिसको स्वास्थ्यका साथै पालन गरिएका पशुपन्छी, बालीनाली, घर, भवन, व्यवसाय लगायतका सम्पत्तिमा भविष्यमा भूकम्प, हावाहुरी, बाढी पहिरो, अधिक वर्षा, चट्याङ्ग लगायतका प्राकृतिक प्रकोपबाट हुने क्षतिका विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ ।
– भविष्यमा दुर्घटनाबाट निजी तथा व्यवसायिक सवारी साधनमा हुने क्षति विरूद्ध मोटर बीमाले आर्थिक रक्षावरण गर्दछ ।

५. जीवन बीमा दाबी भुक्तानी सम्बन्धी व्यवस्था
– बीमक (जीवन बीमा कम्पनी) ले जीवन बीमाको शुल्कको अन्तिम किस्ता भुक्तानी गरिसकेका बीमितका नाममा किस्ता भुक्तानी गरेको मितिले १५ दिनभित्र त्यस्तो बीमाको दाबी भुक्तानीका लागि चाहिने बीमालेख लगायतका कागजात समेत संलग्न राखी दाबी भुक्तानी लिन आउनका लागि भुक्तानी पूर्जी (डिस्चार्ज भौंचर) जारी गर्नुपर्दछ ।
– बीमितले जीवन बीमाको दाबी भुक्तानीका लागि बीमालेख तथा अन्य कागजातहरू र भुक्तानी पूर्जी समेत बीमक समक्ष पेश गरेमा बीमकले आवश्यक जाँचबूझ गरी जीवन बीमालेखको अवधि समाप्त भएको मितिले सात दिनभित्र जीवन बीमाको दाबी भुक्तानी दिनु पर्दछ ।
– जीवन बीमालेखको अवधि समाप्त हुनुभन्दा अगाडि बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए निजले र कसैलाई इच्छाएको नभए सबैभन्दा नजिकको हकवालाले त्यस्तो जीवन बीमाको रकम लिनका लागि देहायका विवरणहरू खुलाई दाबी भुक्तानी पाउनका लागि निवेदन दिनु पर्दछ ।

क  दाबी सम्बन्धी विवरण,
ख  बीमितको मृत्यु प्रमाणपत्र,
ग   दुर्घटनाबाट बीमितको मृत्यु भएको र
त्यस्तो जोखिम जीवन बीमामा समावेश भएको भए बीमितको मृत्युको कारण सम्बन्धमा सरकारी चिकित्सकद्वारा गरिएको शव परीक्षणको प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन,
घ  बीमितसँगको नाता प्रमाणपत्र,
ङ उमेर प्रमाणित नभएको अवस्थामा उमेर प्रमाणित गर्ने कागजातहरू,
च  बीमा समितिद्वारा तोकिएका अन्य विवरणहरू ।
– त्यसरी निवेदन प्राप्त भएपछि बीमकले जीवन बीमा दाबीका सम्बन्धमा पेश भएका कागजात समेतका विवरणहरू छानवीन गरी आवश्यक भए अन्य कुराहरू समेत बुझी आफूसमक्ष कागजातहरू प्राप्त भएको मितिले १५ दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनका लागि निवेदकका नाममा भुक्तानी पूर्जी जारी गर्नु पर्दछ । यसरी जारी गरेको भुक्तानी पूर्जी जारी भएको मितिले १५ दिनभित्र बीमकले बीमाको दाबी रकम भुक्तानी गर्नु पर्दछ ।
– बीमकले विवरणहरू छानवीन गर्दा दायित्व निर्धारण गरी बीमा दाबी भुक्तानी नपर्ने देखेमा सो को कारण खोली त्यसको लिखित जानकारी निवेदकलाई दिनु पर्दछ ।

६.निर्जीवन बीमा दाबी भुक्तानी सम्बन्धी व्यवस्था
– निर्जीवन बीमा गर्ने बीमितले बीमालेख बमोजिमको दाबी गर्नुपर्ने भएमा तत्सम्बन्धी सम्पूर्ण विवरणहरू खुलाई बीमक समक्ष निवेदन दिनु पर्दछ ।
– निर्जीवन बीमाको दाबी भुक्तानीका लागि बीमितबाट निवेदन प्राप्त भएपछि बीमकले त्यस सम्बन्धमा आवश्यक जाँचबूझ गर्नु परेमा तुरून्त बीमा सर्भेयर खटाउनु पर्दछ ।
– खटिएको बीमा सर्भेयरले आवश्यक जाँचबूझ गरी १५ दिनभित्र बीमकको दायित्व निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेश गर्नु पर्दछ । प्रतिवेदनमा बीमकबाट बीमालेखको शर्त बमोजिम बीमितले पाउन सक्ने रकम समेत उल्लेख गरिएको हुनु पर्दछ ।
-सर्भेयरले प्रतिवेदन पेश गरेको मितिले साधारणतया ३५ दिनभित्र बीमकले दायितव ठहर गरी बीमितलाई निर्जीवन बीमाको दाबी रकम भुक्तानी गर्नु पर्दछ ।

७ उजूर गर्न सक्ने व्यवस्था
– बीमा सम्बन्धी कुनै गुनासो भए वा समस्या परेमा नेपालको बीमा नियमनकारी निकाय ‘बीमा समिति’ मा उजूरी दिन सकिने छ ।
– बीमकले दायित्व निर्धारण नगरेमा वा गरे पनि बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बीमितले त्यसको कारण समेत खोली बीमा समितिमा उजूरी गर्नु पर्दछ ।
– बीमाको दायित्व निर्धारणका सम्बन्धमा बीमक विरूद्ध बीमितले दिएका उजूरी माथि बीमा समितिले निर्णय गर्दछ ।
– बीमक र बीमितबीचको कुनै विवाद उत्पन्न भएमा त्यसको मध्यस्थता गर्ने कार्य पनि समितिले गर्दछ ।

बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरू
– बीमितले बीमा गर्नुभन्दा अगाडि आफूलाई आवश्यक पर्ने बीमा यकीन गरी त्यससँग सम्बन्धित प्रस्ताव फारममा खुलाउनुपर्ने सम्पूर्ण विवरणहरू स्पष्टसँग खुलाई भर्नु पर्दछ ।
– बीमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवम् सुविधाका बारेमा जानकारी लिएर मात्र बीमा गर्नु पर्दछ ।
– बीमितले आफ्नो पेशा, व्यवसाय एवम् आर्थिकस्तर समेतलाई ध्यानमा राखेर बीमालेख खरीद गर्नु पर्दछ ।
– बीमाशुल्क बुझाउने तथा बीमालेख नवीकरण गर्ने मिति, इच्छाइएको व्यक्तिको नाम, बीमालेख वापत रकम पाउने, नपाउने जस्ता विषयमा बीमालेख खरीद गर्नुभन्दा अगाडि नै राम्रोसँग बुझ्नु पर्दछ ।
– बीमितले बीमाशुल्क बुझाएपछि त्यसको आधिकारिक भर्पाई वा रसिद लिनु पर्दछ ।
– बीमा सम्बन्धी प्रस्ताव फारम बीमित स्वयम्ले भर्नु पर्दछ । यदि बीमित निरक्षर वा प्रस्ताव फारम भर्न असमर्थ भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नु पर्दछ ।
– बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीका बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नु पर्दछ ।
– बीमालेख नवीकरण गर्ने समय ख्याल गरी समयमा नै बीमालेख नवीकरण गर्नु पर्दछ ।
– बीमा सम्बन्धी प्रचलित नीति नियमहरू तथा कानूनका बारेमा जानकारी राख्नु पर्दछ ।
– बीमितले आफूले खरीद गरेको बीमालेखसँग सम्बन्धित सम्पूर्ण कागजातहरू सुरक्षित राख्नु पर्दछ ।
– हाल प्रविधिको विकाससँगै विभिन्न बैकिङ्ग प्रणाली तथा डिजिटल भुक्तानी पोर्टल मार्फत घरबाट नै बीमाशुल्क बुझाउन सकिने भएकाले त्यस सम्बन्धमा राम्रोसँग जानकारी लिएर मात्र भुक्तानी गर्नु पर्दछ ।
– बीमितले आफ्नो आवश्यकता र आम्दानीको स्रोतलाई ध्यानमा राखेर मात्र बीमा गर्नु पर्दछ । अन्यथा रकमको अभावमा तोकिएको समयावधिसम्म बीमालेखलाई नवीकरण गर्न नसकेर सरेण्डर गर्नुपर्ने अवस्था आउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *