Uncategorized

बीमा सम्बन्धी जान्नै पर्ने ७ कुराहरु

बीमा सम्बन्धी जान्नै पर्ने ७ कुराहरु

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार ०६:२४

facebook sharing button
काठमाडौं । बीमा क्षेत्रका कर्मचारी, अभिकर्ता, बीमित, नियामक निकायका कर्मचारी, पत्रकार लगायत बीमा क्षेत्र सँग सम्बन्धित सबैलाई बीमाको सामान्य जानकारी हुनु पर्छ । अभिकर्तालाई बीमाको सामान्य सिद्धान्तको जानकारी हुनु पर्छ । बीमा सम्बन्धी सामान्य बुझाइले पनि उनिहरुलाई दैनिक जीवनमा सहज हुन्छ । बीमा आफैमा प्राविधिक विषय हो । यो क्षेत्र जति जटिल छ यसले सामान्य नागरिकदेखि ठुला प्रभुत्व व्यकतिका लागि उपयोगी पनि छ । नेपालकी समाजमा बीमा पैसा हुनेका लागि मात्रै हो भन्ने बुझाइ छ । यहि बुझाइले नै नेपालमा बीमा क्षेत्रको विकासमा बाधा पुर्याइरहेको छ । अर्को कुरा मेरो अथाह धनसम्पत्ती छदैछ मलाई बीमाको आवस्यकता पर्दैन भन्ने तप्का पनि उत्तीकै छन् ।
सामान्य झुपडीमा बस्ने गरिवदेखि खर्बौ रुपैयाँको कारोबार गर्ने व्यक्तिको जीवन एउटै हो । कसैको पनि जीवनमा निश्चितता छैन । एउटा गरिवको परिवारमा क्षति हुँदा जति त्यो परिवारको आत्मबल घट्छ त्यति नै सम्पन्न परिवारमा क्षति हुँदा आत्मबल गिर्छ । त्यहि भएर बीमा सबैको लागि हो । भलै गरिव परिवारको झुपडी बाढीले बगाउदा २० हजार बगाउला र धनिको घर बगाउदा दुई अर्ब ।
यी दुबै पक्षका लागि झुपडी र घरको महत्व एउटै हो । त्यो झुपडीमा बस्ने मानिसले बीमा गर्यो भने २० हजार पाउदा पनि उ पहिलाकै अवस्थामा पुग्न सक्छ । र दुई अर्बको घरको बीमा गर्ने पनि पहिलाकै अवस्थामा पुग्न सक्छ । तसर्थ हामी जुन जस्तो अवस्थामा छौ त्यहि अवस्थालाई सुरक्षित बनाइराख्ने माध्यम भनेको बीमा हो ।
१. बीमाको सामान्य जानकारी
बीमा भनेको मानव जीवनमा आइपर्ने विभिन्न किसिमका जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्ने उपकरणहरू मध्येको एक महत्वपूर्ण उपकरण हो । अर्थात्अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो । बीमा गर्दा बीमा गरिएको बस्तुमा हुने जोखिमको क्षतिपूर्तिको भाग बीमितवाट बीमा कम्पनीमा सार्ने काम गरिन्छ । बीमा गरिए पश्चात् बीमा गरिएको वस्तुमा तोकिएको जोखिमवाट हानी–नोक्सानी भएमा आफूले स्वीकार गरे अनुसारको मूल्याङ्कनबाट तोकिएको हदबाट नबढ्ने गरी बीमा कम्पनीले क्षती वापतको क्षतिपूर्ति रकम बीमितलाई व्यहोर्ने गर्दछन्।
२. बीमाका प्रकार
सामान्यतया बीमा तीन प्रकारका हुन्छन्, जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा ।
क. जीवन बीमा
जीवन बीमा भनेको मानिसको जीवनसँग सम्बन्धित हुन्छ । जीवन बीमा गरेपछि बीमाको अवधि समाप्त भएपछि बोनस सहित एकमुष्ठ रकम पाइन्छ । बीमा अवधिमा कथम्कदाचित् बीमितिको मृत्यु भएमा निजको अधिकारप्राप्त हकवालाले बीमा रकम प्राप्त गर्दछन् । जीवन बीमा अन्तर्गत आजीवन बीमा, सावधिक जीवन बीमा र म्यादी जीवन बीमा पर्दछन्।
ख. निर्जीवन बीमा
निर्जीवन बीमा भनेको सम्पत्तिमा हुने विभिन्न प्रकारको भवितव्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षावरण गर्ने माध्यम हो । निर्जीवन बीमा अन्तर्गत अग्नी बीमा, मोटर बीमा, इञ्जिनीयरिङ्ग बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा र विविध बीमा पर्दछन् ।
ग. पुनर्बीमा
बीमा कम्पनीहरूले पुनः अर्को कम्पनीसँग गर्ने बीमालाई पुनर्बीमा भनिन्छ ।
३. बीमाको महत्व र आवश्यकता
बीमाले निश्चित शर्तका आधारमा बीमकबाट पूरै वा आङ्शिक जोखिम बहन गरी भविष्यमा
हुनसक्ने नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ ।
-बीमाले जोखिलाई सुरक्षावरणको रूपमा लिने गर्दछ । अर्थात् जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने सरल माध्यम भनेको बीमा हो ।
-भविष्यमा हुनसक्ने विपत्ति र दुर्घटनाबाट जीवन तथा सम्पत्तिमा हुने क्षतिबाट सिर्जना हुने आर्थिक हानी नोक्सानीलाई बीमाले न्यूनीकरण गर्दछ ।
– बीमा व्यक्ति तथा परिवारको नाफादायक लगानी पनि हो । थोरै थोरै रकम बचत गरेर गरिएको बीमाको अवधि समाप्त भएपछि प्राप्त हुने एकमुष्ठ रकमबाट आर्थिक अभावलाई पूर्ति गर्न सकिन्छ ।
– लगानीकर्ता, उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्न, व्यवसायमा हुनसक्ने जोखिम विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्न र वाणिज्य व्यापारको प्रवद्र्धन गर्न बीमा आश्यक हुन्छ ।
– देशमा पूँजी निर्माण गर्न, रोजगारीका अवसर सिर्जना गर्न र विपन्नता कारण हुने सामाजिक विकृतिमा कमी ल्याउन समेत बीमाको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
४. बीमाबाट हुने आर्थिक रक्षावरण
– बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान
गर्दछ ।
– जीवन बीमा गर्दा बीमालेखको अवधि समाप्त भएपछि बीमितिले बोनस सहित एकमुष्ठ रकम प्राप्त गर्दछ । यदि बीमालेखको अवधि समाप्त हुनुभन्दा अगाडि नै बीमितिको मृत्यु भएमा निजको कानूनी हकदारलाई बीमाको रकम प्राप्त हुन्छ ।
– निर्जीवन बीमाले मानिसको स्वास्थ्यका साथै पालन गरिएका पशुपन्छी, बालीनाली, घर, भवन, व्यवसाय लगायतका सम्पत्तिमा भविष्यमा भूकम्प, हावाहुरी, बाढी पहिरो, अधिक वर्षा, चट्याङ्ग लगायतका प्राकृतिक प्रकोपबाट हुने क्षतिका विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ ।
– भविष्यमा दुर्घटनाबाट निजी तथा व्यवसायिक सवारी साधनमा हुने क्षति विरूद्ध मोटर बीमाले आर्थिक रक्षावरण गर्दछ ।
५. जीवन बीमा दाबी भुक्तानी सम्बन्धी व्यवस्था
– बीमक (जीवन बीमा कम्पनी) ले जीवन बीमाको शुल्कको अन्तिम किस्ता भुक्तानी गरिसकेका बीमितका नाममा किस्ता भुक्तानी गरेको मितिले १५ दिनभित्र त्यस्तो बीमाको दाबी भुक्तानीका लागि चाहिने बीमालेख लगायतका कागजात समेत संलग्न राखी दाबी भुक्तानी लिन आउनका लागि भुक्तानी पूर्जी (डिस्चार्ज भौंचर) जारी गर्नुपर्दछ ।
– बीमितले जीवन बीमाको दाबी भुक्तानीका लागि बीमालेख तथा अन्य कागजातहरू र भुक्तानी पूर्जी समेत बीमक समक्ष पेश गरेमा बीमकले आवश्यक जाँचबूझ गरी जीवन बीमालेखको अवधि समाप्त भएको मितिले सात दिनभित्र जीवन बीमाको दाबी भुक्तानी दिनु पर्दछ ।
– जीवन बीमालेखको अवधि समाप्त हुनुभन्दा अगाडि बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए निजले र कसैलाई इच्छाएको नभए सबैभन्दा नजिकको हकवालाले त्यस्तो जीवन बीमाको रकम लिनका लागि देहायका विवरणहरू खुलाई दाबी भुक्तानी पाउनका लागि निवेदन दिनु पर्दछ ।
क  दाबी सम्बन्धी विवरण,
ख  बीमितको मृत्यु प्रमाणपत्र,
ग   दुर्घटनाबाट बीमितको मृत्यु भएको र
त्यस्तो जोखिम जीवन बीमामा समावेश भएको भए बीमितको मृत्युको कारण सम्बन्धमा सरकारी चिकित्सकद्वारा गरिएको शव परीक्षणको प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन,
घ  बीमितसँगको नाता प्रमाणपत्र,
ङ उमेर प्रमाणित नभएको अवस्थामा उमेर प्रमाणित गर्ने कागजातहरू,
च  बीमा समितिद्वारा तोकिएका अन्य विवरणहरू ।
– त्यसरी निवेदन प्राप्त भएपछि बीमकले जीवन बीमा दाबीका सम्बन्धमा पेश भएका कागजात समेतका विवरणहरू छानवीन गरी आवश्यक भए अन्य कुराहरू समेत बुझी आफूसमक्ष कागजातहरू प्राप्त भएको मितिले १५ दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनका लागि निवेदकका नाममा भुक्तानी पूर्जी जारी गर्नु पर्दछ । यसरी जारी गरेको भुक्तानी पूर्जी जारी भएको मितिले १५ दिनभित्र बीमकले बीमाको दाबी रकम भुक्तानी गर्नु पर्दछ ।
– बीमकले विवरणहरू छानवीन गर्दा दायित्व निर्धारण गरी बीमा दाबी भुक्तानी नपर्ने देखेमा सो को कारण खोली त्यसको लिखित जानकारी निवेदकलाई दिनु पर्दछ ।
६.निर्जीवन बीमा दाबी भुक्तानी सम्बन्धी व्यवस्था
– निर्जीवन बीमा गर्ने बीमितले बीमालेख बमोजिमको दाबी गर्नुपर्ने भएमा तत्सम्बन्धी सम्पूर्ण विवरणहरू खुलाई बीमक समक्ष निवेदन दिनु पर्दछ ।
– निर्जीवन बीमाको दाबी भुक्तानीका लागि बीमितबाट निवेदन प्राप्त भएपछि बीमकले त्यस सम्बन्धमा आवश्यक जाँचबूझ गर्नु परेमा तुरून्त बीमा सर्भेयर खटाउनु पर्दछ ।
– खटिएको बीमा सर्भेयरले आवश्यक जाँचबूझ गरी १५ दिनभित्र बीमकको दायित्व निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेश गर्नु पर्दछ । प्रतिवेदनमा बीमकबाट बीमालेखको शर्त बमोजिम बीमितले पाउन सक्ने रकम समेत उल्लेख गरिएको हुनु पर्दछ ।
-सर्भेयरले प्रतिवेदन पेश गरेको मितिले साधारणतया ३५ दिनभित्र बीमकले दायितव ठहर गरी बीमितलाई निर्जीवन बीमाको दाबी रकम भुक्तानी गर्नु पर्दछ ।
७ उजूर गर्न सक्ने व्यवस्था
– बीमा सम्बन्धी कुनै गुनासो भए वा समस्या परेमा नेपालको बीमा नियमनकारी निकाय ‘बीमा समिति’ मा उजूरी दिन सकिने छ ।
– बीमकले दायित्व निर्धारण नगरेमा वा गरे पनि बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बीमितले त्यसको कारण समेत खोली बीमा समितिमा उजूरी गर्नु पर्दछ ।
– बीमाको दायित्व निर्धारणका सम्बन्धमा बीमक विरूद्ध बीमितले दिएका उजूरी माथि बीमा समितिले निर्णय गर्दछ ।
– बीमक र बीमितबीचको कुनै विवाद उत्पन्न भएमा त्यसको मध्यस्थता गर्ने कार्य पनि समितिले गर्दछ ।
 बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरू
– बीमितले बीमा गर्नुभन्दा अगाडि आफूलाई आवश्यक पर्ने बीमा यकीन गरी त्यससँग सम्बन्धित प्रस्ताव फारममा खुलाउनुपर्ने सम्पूर्ण विवरणहरू स्पष्टसँग खुलाई भर्नु पर्दछ ।
– बीमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवम् सुविधाका बारेमा जानकारी लिएर मात्र बीमा गर्नु पर्दछ ।
– बीमितले आफ्नो पेशा, व्यवसाय एवम् आर्थिकस्तर समेतलाई ध्यानमा राखेर बीमालेख खरीद गर्नु पर्दछ ।
– बीमाशुल्क बुझाउने तथा बीमालेख नवीकरण गर्ने मिति, इच्छाइएको व्यक्तिको नाम, बीमालेख वापत रकम पाउने, नपाउने जस्ता विषयमा बीमालेख खरीद गर्नुभन्दा अगाडि नै राम्रोसँग बुझ्नु पर्दछ ।
– बीमितले बीमाशुल्क बुझाएपछि त्यसको आधिकारिक भर्पाई वा रसिद लिनु पर्दछ ।
– बीमा सम्बन्धी प्रस्ताव फारम बीमित स्वयम्ले भर्नु पर्दछ । यदि बीमित निरक्षर वा प्रस्ताव फारम भर्न असमर्थ भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नु पर्दछ ।
– बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीका बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नु पर्दछ ।
– बीमालेख नवीकरण गर्ने समय ख्याल गरी समयमा नै बीमालेख नवीकरण गर्नु पर्दछ ।
– बीमा सम्बन्धी प्रचलित नीति नियमहरू तथा कानूनका बारेमा जानकारी राख्नु पर्दछ ।
– बीमितले आफूले खरीद गरेको बीमालेखसँग सम्बन्धित सम्पूर्ण कागजातहरू सुरक्षित राख्नु पर्दछ ।
– हाल प्रविधिको विकाससँगै विभिन्न बैकिङ्ग प्रणाली तथा डिजिटल भुक्तानी पोर्टल मार्फत घरबाट नै बीमाशुल्क बुझाउन सकिने भएकाले त्यस सम्बन्धमा राम्रोसँग जानकारी लिएर मात्र भुक्तानी गर्नु पर्दछ ।
– बीमितले आफ्नो आवश्यकता र आम्दानीको स्रोतलाई ध्यानमा राखेर मात्र बीमा गर्नु पर्दछ । अन्यथा रकमको अभावमा तोकिएको समयावधिसम्म बीमालेखलाई नवीकरण गर्न नसकेर सरेण्डर गर्नुपर्ने अवस्था आउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *