के तपाई जीवन बीमा गर्दै हुनुहुन्छ ? यस्ता छन् है जीबन बीमा बारे जान्नै पर्ने कुराहरु
सबै तह र तप्काका आममानिसहरुलाई जीवन बीमाको आवश्यकता रहेको हुन्छ । अझै भन्ने हो भने नेपाल जस्तो विकासोन्मुख मुलुकमा बस्ने हामीलाई बीमाको अति नै आवश्यक रहेको छ ।
भविष्य अनिश्चित छ । जीवनमा कुनैपनि समयमा अप्रत्याशित जोखिमहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । जीवन अमूल्य छ, त्यसैले जीवन बीमाकै माध्यमबाट जीवनको हर अवस्थामा सुनिश्चित रहन सकिन्छ । हामीले भविष्यमा आउन सक्ने जोखिमहरुलाई पूर्णरुपमा नियन्त्रण गर्न त सक्दैनौं तर पनि बीमाको माध्यमबाट हुन सक्ने सम्भावित जोखिम वा क्षतिलाई न्यूनिकरण गर्नका लागि भने बीमा गर्नु पर्ने हुन्छ । किनकि भविष्यमा पर्न गएको अनिश्चित जोखिमलाई सामना गर्न बीमाले साहस दिलाउने गर्दछ ।
बीमा ऐन २०४९ का अनुसार जीवन बीमा व्यवसाय भन्नाले बीमा शुल्क भुक्तानी गरेको बीमितलाई तोकिएको अवस्थामा जीवित रहे वा मृत्यु भएमा बीमकले निश्चित रकम क्षतिपूर्तीवापत प्रदान गर्ने गरी दुईपक्षबीच हुने करारलाई भनिन्छ ।
जीवन बीमा गरे पाईन्छ यी फाइदा
जीवन बीमाले मनमा शान्ति दिलाउँनुका साथै, आर्थिक परनिर्भरता हटाउँछ । बचतलाई प्रोत्साहित गर्छ । जीवन बीमाले परिवारको भरणपोषण गर्नुपर्ने जिम्मेवारी बोकेका व्यक्तिका लागी बहुमूल्य आर्थिक लाभ पु-याउँछ । आफ्नो अनुपस्थिति वा अप्रत्याशित निधनमा समेत आर्थिक सुरक्षा प्रदान गर्नेछ भन्ने भरोशा प्रदान गर्ने गर्दछ ।
यस्तै, बेरोजगारी, दुर्घटना, अपाङ्गता वा मृत्यु भएको अवस्थामा समेत यसले आर्थिक श्रोत जुटाएर जीवनशैलीलाई निरन्तरता दिन सहयोग पर्याउँछ । साथै वृद्धावस्थामा समेत निरन्तर आर्थिक आर्जनका लागी जीवन बीमा आवश्यक छ ।
जीवन बीमा सम्बन्धि जान्नै पर्ने अन्य यी कुराहरु
कति रकम सम्मको जीवन बीमा हाम्रा लागी उपयुक्त छ ?
मानिसको जीवन अमूल्य छ । कसैले पनि जीवनको मूल्य रुपैयाँमा आंकलन गर्न सक्दैन । जीवन बीमाको बीमाङ्क रकम तपाईको आर्थिक अवस्थामा भर पर्छ ।
जीवन बीमाका सम्बन्धमा थप जानकारी कहाँबाट प्राप्त गर्न सकिन्छ ?
जीवन बीमाका सम्बन्धमा थप जानकारी प्राप्त गर्न तपाईले निम्न स्थान वा व्यक्तिसँग सम्पर्क गर्न सकिनेछ ।
जीवन बीमा कम्पनीमा कार्यरत बीमा अभिकर्ता जसले तपाईको आवश्यक्तालाई सहजरुपमा बुझ्न र तपाईका लागी उपयुक्त बीमा योजना छनौटमा सहयोग पुयाउन सक्छन् ।
बीमा गर्दा के कति बीमाशुल्क भुक्तानी गर्नुपर्छ ?
तपाईको आफ्नो उमेर, रोजगारी, स्वास्थ्य अवस्था, बीमाङ्क, बीमाशुल्क भुक्तानी तरिका र सम्बन्धित अन्य पक्षलाई समेत विचार गरेर बीमाशुल्क निर्धारण गरिन्छ ।
त्यसपछि वार्षिक, अद्र्धवार्षिक, त्रैमासिक वा मासिकरुपमा, बीमालेखमा उल्लेख भए अनुसार, बीमाशुल्क भुक्तान गर्नुपर्ने अन्तिम मिति वा बीमा अवधी पुरा हुनु अगावै बीमितको मृत्यु भएसम्म भुक्तानी गर्नुपर्नेछ ।
बीमाशुल्क कहाँबाट बुझाउने ?
आाफुुले बीमा गरेको कम्पनीको जुनसुकै शाखा वा उपशाखाबाट बीमा शुल्क भुक्तानी गर्न सकिन्छ ।
के इच्छ्याएको व्यक्ति परिवर्तन गर्न सकिन्छ त ?
बीमितले जीवन बीमा अवधीभित्र कुनैपनि समयमा इच्छयाइएको व्यक्ति परिवर्तन गर्न सक्नेछन् । यसका लागी तपाईले कम्पनीले तोकेको ढाँचामा आवेदन दिनुपर्ने छ । इच्छाइएको व्यक्ति परिवर्तन गरिएको सम्बन्धमा कम्पनीले तपाईलाई लिखित सूचना जारी गर्नेछ ।
बीमालेख हराएको अवस्थामा के गर्ने ?
बीमालेख हराएको अवस्थामा बीमा कम्पनीले प्रतिलिपी उपलब्ध गराउँदछ । यसका लागी बीमितले कम्पनीले तोकेको केही प्रकृयाहरु पुरा गर्नुपर्नेछ । साथै बीमितले तोकिएको शुल्क समेत तिर्नुपर्नेछ ।
के बीमाशुल्क भुक्तानीको तरिका परिवर्तन सकिन्छ ?
बीमितले चाहेको खण्डमा भुक्तानीको तरिका परिवर्तन गर्न सक्नेछन् । यसको लागि भने बीमितले कम्पनीले उपलब्ध गराएको ढाँचामा आवेदन दिनुपर्ने हुन्छ ।
बीमालेख कसरी व्यतित हुन्छ र यसको पुनर्जागरण कसरी गर्ने ?
बीमितले प्रत्येक पटक बीमा शूल्कको किस्ता बुझाउनुपर्ने मितिदेखि थप ३० दिनको मोहलतसम्ममा पनि बीमाशुल्क बुझाउन नसकेको अवस्थामा बीमालेख व्यतित भएको ठहर्छ । यस्तो अवस्थामा बीमालेखको सबै सुविधाहरुबाट बीमित बञ्चित हुनपुग्छ ।
बीमालेख व्यतित भएको खण्डमा यी निम्न प्रकृयाद्धारा पुनर्जागरण गर्न सकिन्छ
सबैभन्दा पहिले बीमितले स्वास्थ्य विवरण फारम भर्नु पर्ने हुन्छ । बाँकी रहेको बीमाशुल्क तथा ब्याज हर्जाना भुक्तानी गर्ने । अर्धवार्षिक ९ प्रतिशतका दरले ब्याज लाग्छ । व्यतित बीमालेख पुनर्जागरण गर्ने वा नगर्ने सम्बन्धमा निर्णय लिने अधिकार कम्पनीमा निहित रहनेछ ।
बीमा दाबी भुक्तानीका लागी के के प्रकृयाहरु अपनाउनु पर्छ ?
बीमितको मृत्यु भएको अवस्थामा बीमितको इच्छाइएको व्यक्ति वा हकवालाले दाबी विवरण फारम भर्नु पर्ने हुन्छ । यसका साथै बीमितले मृत्यु दर्ता प्रमाण पत्र, दुर्घटनाको प्रमाण ( जीवन बीमालेखमा समेटिएको जोखिम अन्तर्गत पर्नेगरी कुनै दुर्घटनामा परेर बीमित मृत्यु भएको हो भने मृत्युको कारण स्पष्ट खुलाइएको मान्यताप्राप्त स्वास्थ्य संस्थाका चिकित्सकको हस्ताक्षरमा जारी गरिएको शव परिक्षण प्रतिवेदन वा यस्तो कुनै कागज प्रमाण नभएको अवस्थामा प्रहरी प्रतिवेदन), बीमित (मृतक )सँगको नाता खुल्ने प्रमाण, बीमितको मृत्यु हुनु अघि उपचार गराइएको प्रमाण, बीमालेख जारी गर्दा बीमितको उमेर खुल्ने प्रमाण पेश नगरिएको भए बीमितको जन्म मिति खुल्ने प्रमाण, सक्कल बीमालेख लगाएतका कागजातहरु पेश गर्नुपर्ने हुन्छ ।
सबै प्रकृयाहरु पुरा गरीसकेपछि भुक्तानी प्राप्त गर्न कति समय लाग्छ ?
बीमा निर्देशिका २०५९ को दफा–३१ को उपदफा (४) अनुसार दाबी भुक्तानीका लागी आवश्यक सम्पूर्ण कागज प्रमाण पेश गरिसकेको अवस्थामा कम्पनीले १५ दिनभित्र बीमितलाई भुक्तानी गर्ने दायीत्व (रकम) को निर्धारण गर्नुपर्छ ।
बीमालेखमा इच्छाइएको व्यक्ति उल्लेख नगरेको अवस्था वा इच्छाइएको व्यक्तिको मृत्यु भइसकेको अवस्थामा बीमितको मृत्युपश्चात बीमा दाबी भुक्तानीमा कस्को हक लाग्नेछ ?
बीमा ऐन २०४९ अनुसार, कुनैपनि बीमितको मृत्यु बीमा अवधी समाप्ती हुनुपूर्व नै भएको अवस्थामा बीमालेखमा उल्लेखित इच्छाइएको व्यक्तिले बीमा रकम भुक्तानी पाउनेछ । इच्छाइएको व्यक्तिको नाम उल्लेख नभएको अवस्था वा इच्छाइएको व्यक्तिको समेत पहिले नै मृत्यु भइसकेको अवस्थामा निम्नलिखित क्रम अनुसार प्राथमिकतामा बीमा रकम भुक्तानी दिइनेछ । एकभन्दा बढी हकवाला भएको अवस्थामा बीमा रकम सबै हकवालाहरुलाई समानुपातिकरुपमा वितरण गरिनेछ ।
(क) सगोलको पति वा पत्नी,
(ख) सगोलको छोरा, छोरी, विधवा छोरा बुहारी,
(ग) सगोलको बाबु आमा, (विवाहिता महिलाको हकमा सासू ससुरा),
(घ) आफुले पालनपोषण गर्नु पर्ने बाजे बज्यै र छोरापट्टिको नाति, नातिनी,
(ङ) भिन्न बसेको पति पत्नी,
(च) भिन्न बसेको अविवाहिता छोरी, छोरा, विधवा छोराबुहारी,
(छ) भिन्न बसेका बाबु आमा,
(ज) सगोलको सौतेनी आमा,
(झ) सगोलको सौतेनी छोरा छोरी,
(ञ) सगोलको दाजु भाइ, दिदी बहिनी,
(ट) विवाहिता महिलाको हकमा भिन्न बसेका सासू ससुरा,
(ठ) भिन्न बसेका छोरापट्टिको नाति, अविवाहिता नातिनी,
(ड) भिन्न बसेको सौतेनी आमा,
(ढ) भिन्न बसेका सौतेनी छोरा, अविवाहिता सौतेनी छोरी,
(ण) विवाहिता महिलाको हकमा सगोलको जेठाजु, जेठानी, देवर, देवरानी,
(त) सगोलको भतिजा, भतिजी,
(थ) सगोलको काका, विधवा काकी, भाउजू, भाइ बुहारी,
(द) भिन्न बसेका दाजु भाइ, दिदी बहिनी,
(ध) भिन्न बसेका बाजे, बज्यै, नातिनी बुहारी, भतिजा, भतिजी,
(न) बीमितसँग अन्तिम अवस्थासम्म सँगै बसी निजको हेरचाह गर्ने व्यक्ति ।
बीमा नगरेपनि जीवन बीमाबारे जान्नै पर्ने यी तथ्य
काठमाडौं । समय एकैनाशले चल्दैन् । आज जे छ त्यो भोलि पनि रहन्छ भन्ने एकिन गर्न सकिदैन् । भविष्यमा के हुन्छ ? कसले पो देखेको हुन्छ र ? जीवनमा कत्ति बेला के–के जोखिम आईपर्ने हुन् कसलाई के थाहा ? भविष्यमा जोखिमले ‘म आए है’ भन्दै पक्कै पनि आउँदैन् । त्यसैले आजै र समय छउञ्जेल र गर्न सकुञ्जेल हामीले भोलिका लागि सोच्नैपर्ने हुन्छ । भविष्यमा हुन सक्ने जोखिमको भार आफूले नबोकी बीमा कम्पनीहरुलाई किन नबोकाउने ? जीवन बीमाले हानी होइन, जीवनलाई अघि बढाउन मद्दत गर्दछ ।
बीमा जोखिम हस्तान्तरण गर्ने मुख्य उपाय हो । अझ त्यसमा पनि आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी बीमा हो । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति तथा कम्पनी) बीच सम्झौता हुन्छ ।
भविष्यको सुरक्षाका लागि जीवन बीमाको आवश्यक छ । आज तपाई हामीले गरेको बीमाले भोली तपाई हाम्रो परिवार सुखमय रहन मद्दत पुग्छ ।
बीमा नगर्दा पनि हुन्छ तर जीवन बीमा गरे यी तथ्य भने सबैले बुझ्न जरुरी छ
सर्वोत्तम बचत
साधारण बचत व्यवस्थाअन्तर्गत बचत गरेमा बचत गर्ने व्यक्तिको असामायिक र अचानक मृत्यु भएमा निजका आश्रितहरूले निजले बचत गरेको रकम र त्यसमा हुने ब्याज मात्र पाईन्छ ।
तर, जीवन बीमा छ भने बीमा गर्ने व्यक्तिको मृत्यु जहिलेसुकै भएमा पनि बीमालेख बमोजिमको बीमा रकम र आर्जन भएको बोनस एकमुस्ट पाइनेछ ।
अनिवार्य बचतः
अन्य योजनाअन्तर्गत बचत गरिने रकम निश्चित अवधिभन्दा अगाडि पनि सजिलैसित झिक्न सकिन्छ । तर, जीवन बीमा योजनाअन्तर्गतको रकम अनिवार्य रूपले बुझाउनुपर्ने हुनाले अनिवार्य बचतको रूपमा रहन्छ । त्यसैले जीवन बीमा गर्दा अनिवार्य बचत गर्ने बानि बस्छ ।
करमा छुट
बीमा गरेको व्यक्तिले बीमा शुल्कमा कर छुट पाउँछ । यसले एकातिर कर छुट हुन्छ भने अर्कोतिर बचत पनि भइरहेको हुन्छ । यो पनि बीमा गर्दाको फाइदा नै हो ।
आर्थिक सुरक्षाको साधन
बीमा आर्थिक सुरक्षाको साधन हो । बीमाले व्यक्तिलाई आफ्नो जीवन र सम्पत्तिबारे भविष्यमा हुनसक्ने जोखिमहरूको कारण उब्जिएको समस्याबाट राहत हुने गरी क्षतिपूर्ति दिन्छ । जीवन बीमा गरेको निश्चित अवधिसम्म बीमा गर्ने व्यक्ति जीवित भएमा उसैलाई, नभए आश्रित परिवारलाई बीमा कम्पनीले एकमुष्ट बीमा रकम फिर्ता गर्दछ । बीमा गर्ने व्यक्ति वा परिवारमा भएको घटना वा जोखिमलाई सुरक्षित क्षतिपूर्ति गरिदिने भएकोले बीमा लाभदायक छ ।
शिक्षा, दिक्षा र विवाहको व्यवस्था
आफ्ना छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रवन्ध मिलाउनको निम्ति ठूलो खर्च आईलाग्ने भएकोले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुन्छ । छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्न चाहानालाई यसले ठूलो सहयोग गर्छ । अथवा विवाह– ब्रतबन्ध, कुनै सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि यसले ठूलो मद्दत गर्छ ।
ऋणको भारबाट मुक्ति
कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । व्यक्तिले बैंक, वित्तीय संस्था वा व्यक्तिबाट ऋण लिने गर्दछन् । लिएको ऋण चुक्ता नहुँदै उसको परिवारका सदस्यलाई समस्या उत्पन्न हुन पुग्छ । यदि उसले आफुले लिएको ऋणको बीमा गर्यो भने कम्पनीले ऋणको जोखिम बहन गर्छ ।
भविष्यको योजना निर्माण गर्न
जीवन बीमाले भविष्यको योजना तर्जुमा गर्न मद्दत गर्दछ । जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।
व्यक्ति स्वयम्को लागि
मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।
बुढेसकालको साहारा
जीवन बीमाले बुढेसकालमा साहारा दिन्छ । बुढेसकालमा केही काम गर्न नसक्दा बीमाबाट आउने रकमले धेरै भर दिन्छ । कसैले साहारा नदिए पनि बीमावापत पाएको रकमले आफ्नो दैनिकि चलाउन सकिन्छ ।