अभिकर्ताको लाइसेन्स लिन अव परीक्षा दिनु पर्ने व्यवस्था गरिदै, छुट्टै निर्देशिका आवश्यक
जुनसुकै क्षेत्रको लाइसेन्स प्रदान गर्दा न्युनतम परीक्षाको व्यवस्था गरिएको हुन्छ । जसले गर्दा बजारमा दक्ष र सम्बन्धित क्षेत्रको राम्रो सैद्धान्तिक ज्ञान भएको व्यक्तिहरु आउने सम्भावना रहन्छ । अधिवक्ता, लेखापढी, भन्सार एजेन्ट लगायतका क्षेत्रमा सम्बन्धित निकायले परीक्षा लिएर मात्रै लाइसेन्स दिने गर्दछ । तर बीमा अभिकर्ताको लागि न्युनतम एसएलसी वा एसइइ उत्तीर्ण भएको नेपाली नागरिकले सजिलै बीमा कम्पनीहरु मार्फत लाइसेन्स प्राप्त गर्छन् । बीमा कम्पनीहरुले पोलिसी ल्याउने जुन सुकै व्यक्तिलाई सामान्य आधारभुत तालिम पनि नदिइ लाइसेन्स जारी गर्ने गर्छन् ।
पछिल्लो रिलायन्स लाइफका अभिकर्ता सरदार अहम खाँ नै सर्जन बि.क.को घटनामा प्रत्यक्ष जोडिएको पाइएको छ । बीमा समितिले उनलाई कुनै पनि बीमा कम्पनीबाट अभिकर्ताको लाइसेन्स लिन नपाउने व्यवस्था गर्नुका साथै उनको अभिकर्ताको लाइसेन्स खारेज गर्ने भएको छ ।
बीमा ऐन २०४९ को दफा ३२ अनुसार अदालतबाट कसुरदार ठहरिएको व्यक्ति अभिकर्ता बन्न पाउदैन । कुनै प्रकारको चोरी गरेको, ठगी गरेको वा आफ्नो जिम्मामा रहेको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको व्यक्ति अभिकर्ताको लागि अगोग्य हुने व्यवस्था छ ।
कसरी दिने अभिकर्ताको लाइसेन्स
बीमा समितिले अभिकर्ताको लाइसेन्सका लागि निश्चित पाठ्यक्रम बनाउनु पर्छ । उक्त पाठ्यक्रम अनुसार बीमा कम्पनीहरुले नै निश्चित समय अवधिमा परिक्षा लिएर अभिकर्ताको लाइसेन्स दिने व्यवस्था गरिनु पर्छ । यसरी परिक्षा दिदा अभिकर्तालाई वायोमेट्रिक मार्फत आवस्यक व्यक्तिगत विवरण भर्ने व्यवस्था गरिनु पर्छ । ताकी अहिलेको अभ्यास अनुसार दोस्रो वा तेस्रो व्यक्तिले लाइसेन्स लिइदिने अवस्था नहोस् । यसो गर्दा वास्तविक रुपमा अभिकर्ता पेसालाई अंगिकार गर्न चाहने व्यक्तिनै यस पेशामा आउनेछन् । अर्को तर्फ परिक्षा नै दिएर लाइसेन्स पाउने भए पछि यसको महत्व पनि विस्तारै बढ्दै छन् ।
अझ बीमा समिति अन्तर्गत सञ्चालित इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल मार्फत तालिम तथा परिक्षा लिएर लाइसेन्स दिने व्यवस्था गर्न सकेमा अझ राम्रो हुन्छ । यसमा तीन चार जना मात्रै जनशक्तिमात्रै रहेकाले अभिकर्ताको लाइसेन्स सञ्चालन गर्न सक्ने अवस्था छैन।
सर्भेयरकै लाइसेन्समा यस्तो व्यवस्था गर्न चुकेको बीमा समितिले अभिकर्ताको हकमा यस्तो गर्न सक्ने अवस्था भने देखिदैन । तर सधै नै यहि हिसावले अगाडी बढ्न खोज्नु बीमा क्षेत्रकै हित विपरित छ । यदि बीमाको विषयमा, बीमा पोलिसीका विषयमा र बीमाको सैद्धान्तिक कुराहरु बुझेको व्यक्ति आएमा बीमाको पनि राम्रो हुन्छ ।
कसैले सुनियोजित रुपमै अपराध गर्न खोज्छ भने बीमा कम्पनी तथा बीमा समिति केहि गर्न सक्दैन । तर अपराध गर्न सहज हुने अवस्था तयार पार्नु अर्को ठुलो अपराध हो । बीमा कम्पनीका लागि जति ठुलो अभिकर्ताको च्यानल भयो त्यति नै राम्रो हो तर निष्कृय र आपराधिक मानसिकताका अभिकर्ता उत्पादन गरेर केहि फाइदा छैन ।
अहिले पनि एक जना अभिकर्ताको लाइसेन्स उपलब्ध गराउदा बीमा कम्पनी तथा बीमा समितिको ठुलो रकम खर्च हुन्छ । बजारमा बीमा अभिकर्ताको लाइसेन्स लिनेको संख्या साढे दुई लाख भन्दा धेरै छ । तर बीमा समितिका अनुसार अभिकर्ताको लाइसेन्स नविकरण गर्नेको संख्या एक लाख ७० हजार मात्रै छ । बजारमा यति ठुलो संख्यामा अभिकर्ता रहे पनि सक्रिय अभिकर्ताको संख्या भने धेरै कम छ । यदि सक्रिय अभिकर्ताको उत्पादन गर्ने हो भने बजारमा अभिकर्ताको महत्व बढाउनु पर्छ । लाइसेन्समा परिक्षा लिने प्रणालीको विकास गरी दक्ष र बीमा बुझेको व्यक्तिलाई मात्रै अभिकर्ता हुने अवस्था दिनु पर्छ ।
बीमा ऐन, बीमा नियमावलीमा अभिकर्ता सम्बन्धी कानुनी व्यवस्था भए पनि बीमा समितिले यस सम्बन्धी छुट्टै निर्देशिका बनाएको छैन । नियमावलीमा अभिकर्ताको आचारसंहिताको व्यवस्था छ । समितिले अभिकर्ताको परीक्षा सम्बन्धि व्यवस्था सहित यसका निश्चित मापदण्डका लागि पनि निर्देशिका अत्यावश्यक देखिन्छ ।